काठमाडौं–लिग लिडर बायर्न म्युनिकले बुन्डेसलिगा फुटबलमा जित निकालेको छ। बुधबार राति भएको खेलमा बायर्नले एफसी अग्सबर्गलाई १–० गोलअन्तरले पराजित गरेको हो।
घरेलु टिमविरुद्ध बायर्नको जितमा रोबर्ट लेवान्डोस्कीले गोल गरे। खेलको १३ औं मिनेटमा डिबक्सभित्र अक्सफोर्डले हातले बल छोएपछि बायर्नले पेनाल्टी पाएको थियो। पेनाल्टी प्रहार गरेका लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई सुरुवाती अग्रता दिलाए। बुन्डेसलिगा मध्यतिर आइपुग्दा लेवान्डोस्की एकपछि अर्को गोल गरिरहेका छन्। ३२ वर्षीय लेवान्डोस्कीले जारी लिगमा मात्रै २२ खेल गरिसकेका छन्।
पहिलो हाफसम्म १–० गोलले पछि परेको अवस्थामा दोस्रो हाफमा अग्सबर्गले सुधारिएको प्रदर्शन गर्दै बायर्नलाई गाेल गर्न दिएन। तर अग्सबर्गले गोल फर्काउन नसक्दा हार ब्यहोरेको हो।
बुधबार राति नै भएको अर्को खेलमा युनियन बर्लिनलाई १–० गोलले नै पराजित गर्दै लाइपजिगले शीर्ष स्थानको बायर्नलाई पछ्याई रहेको छ। जितसँगै बायर्नको १७ खेलबाट ३९ अंक हुँदा पराजित अग्सबर्गको १७ खेलबाट १९ अंक छ। दोस्रो स्थानमा उक्लिएको लाइपजिगको १७ खेलबाट ३५ अंक हुँदा तेस्रो स्थानमा रहेको लिभरकुसनको समान खेलबाट ३२ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।