काठमाडौं– फुलहामलाई पराजित गर्दै म्यानचेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ। बुधबार राति भएको खेलमा फुलहामलाई युनाइटेडले २–१ गोलअन्तरले पराजित गरेको हो।
युनाइटेडको जितमा इडिन्सन काभानी र पाउल पोग्बाले गोल गरे। फुलहामका लागि एडमोल लुकमनले गोल गरे। सुरुवाती समयमा नै लिएको अग्रता जोगाउन नसक्दा फुलहामले हारेको हो। खेलको पाँचौं मिनेटमा नै लुकमनले गोल गर्दै फुलहामलाई सुरुवाती अग्रता दिलाए। तर खेलको २१ औं मिनेटमा काभानीले गोल गर्दै युनाइटेडलाई १–१ गोलको बराबरीमा ल्याए।
पहिलो हाफसम्म १–१ गोलको बराबरी खेलेको युनाइटेडले दोस्रो हाफमा अर्को गोल गर्दै जित निकालेको हो। खेलको ६५ औं मिनेटमा पोग्बाले गोल गर्दै म्यानचेस्टर युनाइटेडलाई २–१ गोलको जित दिलाए।
यो जितसँगै युनाइटेड फेरि शीर्ष स्थानमा उक्लिएको छ। १९ खेल खेलेको युनाइटेडको ४० अंक भएको छ। लिगको १८ औं स्थानमा रहेको फुलहामको भने १८ खेलबाट १२ अंक मात्रै छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।