काठमाडौं-लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पुस २७ गते ताकरेश्वर नगरपालिका–१० मनमैजुबाट ३ ग्राम लागुऔषधसहित एक युवकलाई पक्राउ गर्यो। इलामको माई नगरपालिका–४ घर भएका ३१ वर्षीय युवक सन्दीप राई पक्राउ परेका थिए।
राई लागुऔषध सेवन गर्ने व्यक्ति भएको सूचना पाएपछि खटिएको टोलीले ३ ग्राम लागुऔषधसहित साढे २० हजार नगद र बा ४० प ७९९७ नम्बरको स्कुटरसहित उनलाई पक्राउ गरेको थियो।
राईबाट सुरु भएको अनुसन्धानबाट प्रहरी खैरो हिरोइन सप्लायर्ससम्म पुग्न सफल भएको छ। अहिलेसम्म यो घटनामा ९ जना पक्राउ परिसकेका छन् भने ५३६.५ ग्राम खैरो हिरोइन पनि बरामद भएको ब्यूरोका एसएसपी दिलिपकुमार चौधरीले बताए।
योसँगै ९ जनाबाट अहिलेसम्म एम्फेटामाइन ७.५ ग्राम, लागुऔषध तौल गर्ने मेसिन २ थान, ६ लाख ७१ हजार ५ सय रुपैयाँ, अमेरिकी डलर ६१ सय र मोटरसाइकल र स्कुटर ३ थान बरामद भएको छ।
सन्दीप पक्राउ परेपछि उनकै सूचनाका आधारमा प्रहरीले सोही दिन मनमैजुबाटै इलामकाे माई–४ कै ३२ वर्षीय दीपक राईलाई पक्राउ गर्याे। उनको साथबाट ४.५ ग्राम खैरो हिरोइन र ५० हजार ५ सय नगद बरामद भएको थियो। उनको कोठा खानतलासी गर्दा प्रहरीले थप ६४ ग्राम खैरो हिरोइन र ७.५ ग्राम एम्फेटामाइन र डिजिटल तराजुसमेत बरामद भएको थियो।
राईले खैरो हिरोइन इलाम नगरपालिका–२ मादापथका ३६ वर्षीय केसाङ योल्मुबाट किनेको प्रहरीलाई बयान दिए। उनको बयानका आधारमा भोलिपल्ट पुस २८ गते योल्मुलाई ब्यूरोको टोलीले मित्रनगरबाट ४ सय ग्राम खैरो हिरोइन र ४ हजार रुपैयाँसहित मित्रनगरबाट पक्राउ गर्न सफल भयाे।
पक्राउ परेका योल्मु खैरो हिरोइन सेवनकर्तासँगै सप्लायर्ससमेत भएको पाइएको एसएसपी चौधरीले बताए। यो सञ्जालभित्र युजर सप्लायर्स पनि रहेको भन्ने जानकारी पाएपछि अनुसन्धानमा जुटेको ब्यूरोको टोलीले विभिन्न तह पत्ता लगाउँदै थियो।
सोही क्रममा ब्यूरोको नियन्त्रणमा परे टासी सन्डुप गुरुङ। योल्मु पक्राउकै दिन मनाङको ङिस्याङ गाउँपालिका–३ नावल घर भएका ४६ वर्षीय गुरुङलाई कोटेश्वरबाट ब्यूरोको टोलीले पक्राउ गरेको थियो। उनी लागुऔषध किन्न डिजिटल तराजुसहित आएका थिए।
सुरूमा पक्राउ परेका सन्दीप खैरो हिरोइन सेवनकर्तासँगै सप्लायर्स पनि हुन्। लागुऔषध कारोबारपछिको ४ लाख ६० हजार रुपैयाँ उनले पाँचथरको फालेलुङ गाउँपालिका–८ का भीमप्रसाद लोवाको नाममा माच्छापुच्छ्रे बैंकमा जम्मा गरिदिएका थिए। सन्दीपले जम्मा गरेको रकम निकाल्न गएका लोवालाई पाँचथरको फिदिममा रहेको माछापुच्छ्रे बैंकको शाखाबाट पक्राउ गरिएको थियो।
उनको भूमिका के थियो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। लागुऔषध खैरो हिरोइन सप्लायर्स योल्मुले बयानका क्रममा दिनेश कुमालको पनि नाम लिएका थिए। झापाको बुद्दशान्ति गाउँपालिका-३ का ४१ वर्षीय दिनेश कुमाल र सोही ठाउँका ४३ वर्षीय सन्तोष सापकोटा पनि खैरो हिरोइनसहित झापाबाट पक्राउ परे। उनीहरुको साथबाट १५ ग्राम खैरो हिरोइन बरामद भएको थियो।
त्यस्तै यही समूहमा रहेका झापाको भद्रपुर–१० का ४१ वर्षीय राजेश श्रेष्ठलाई ब्यूरोले कोटेश्वरबाट पक्राउ गरेको थियो। उनको कोठा खानतलासी गर्दा ३ लाख ३७ हजार ५ सय रुपैयाँ र ६१ सय अमेरिकन डलर बरामद भएको थियो। उनलाई माघ १ गते पक्राउ गरिएको हो।
श्रेष्ठ पक्राउ परेको भोलिपल्ट माघ २ गते काठमाडौं नारायणटारबाट माई जोगमाई गाउँपालिका–३ घर भएका ३६ वर्षीय सोनाम कागते पक्राउ परे। उनको साथबाट ५० ग्राम खैरो हिरोइन बरामद भएको थियो।
उनीहरुले भारतबाट पूर्वी सीमानाकाबाट खैरो हिरोइन नेपाल भित्र्याएर किनबेचको काम गर्ने गरेको अनुसन्धानबाट खुलेको ब्यूरोका प्रवक्ता कृष्णकुमार महतले जानकारी दिए। उनीहरुले १ ग्राम खैरो हिरोइन १० हजार रुपैयाँसम्म बेच्ने गरेको अनुसन्धानबाट खुलेको छ।
यो समूहमा अरु पनि व्यक्ति हुनेसक्ने प्रहरीले जनाएको छ। पक्राउ परेकाहरुविरुद्ध लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिमको कसुरमा म्याद थप गरेर अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।