काठमाडौं- नेपालमा रासायनिक मल कारखाना स्थापनाका लागि तयारीसम्बन्धी गृहकार्य सुरु गरिएको छ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेल, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, कृषि तथा पशुपन्छी विकास मन्त्री पद्माकुमारी अर्याल र सचिवहरुसहित अर्थमन्त्रालयमा बसेको बैठकमा नेपालमा रासायनिक मल कारखाना स्थापनाको तयारीसम्बन्धी छलफल भएको हो।
बैठकमा रासायनिक मल कारखाना स्थापनाको प्रविधि र सम्भावित लागतबारे छलफल भएको छ, जसमा विश्वमा प्रचलनमा रहेका प्रविधि तथा तरिका प्राकृतिक ग्यास, वाटर इलेक्ट्रोलिसिस र हाइब्रिडमध्येबाट नेपालका लागि उपयुक्त हुने प्रविधि तय गर्नेबारे कुरा भएको जनाइएको छ।
अर्थमन्त्री पौडेलले थप छलफल गरी नेपालमा रासायनिक मल कारखाना स्थापनासम्बन्धी प्रविधि, लगानीको विधि र लागतसमेतको प्रस्ताव तयार गर्ने बताएका छन्।
गत कार्तिक २४ गते बसेको मन्त्रिपरिषद्को बैठकले नेपालमा रासायनिक मल कारखाना स्थापनाको प्रारम्भिक अध्ययन गर्नका लागि अर्थमन्त्रीको संयोजकत्वमा समिति गठन गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।