काठमाडौं–राष्ट्रिय महिला लिग फुटबल आज बुधबारबाट सुरु हुँदैछ। दशरथ रंगशालामा हुने उद्घाटन खेलमा विभागीय टिम नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्दैछ।
राष्ट्रिय महिला लिगमा सात टिमको सहभागिता छ। पुलिस, आर्मीसँगै एपिएफ क्लब, उदयरपुरको चौदन्डीगढी नगरपालिका, मोरङको विराटनगर महानगरपालिका, स्याङ्जाको वालिङ नगरपालिका र रौतहटको चन्द्रपुर नगरपालिका रहेका छन्। दशरथ रंगशालामा राष्ट्रिय महिला लिगको उद्घाटन र लिगको अन्तिम खेल गरी दुई खेल मात्रै हुनेछ। बाँकी खेल भने ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा हुनेछ।
उद्घाटन खेल बुधबार दिउँसो २ बजे सुरु हुनेछ। आर्मी र पुलिस दुबै टिम सुरुवाती खेलमा जित निकाल्दै सुखद सुरुवात गर्ने दाउमा छन्।
फागुन ७ गतेसम्म सञ्चालन हुने राष्ट्रिय महिला लिग डबल राउण्ड रोविनमा हुनेछ। प्रतियोगितामा कुल ४२ खेल हुनेछ। एन्फाले राष्ट्रिय महिला लिगसम्बन्धी निकालेको नियमअनुसार एउटा टिमले २३ खेलाडी र सात अफिसियल गरी ३० सदस्यसम्म राख्न पाउनेछन्। विभागीय टिमबाहेक हरेक क्लबले चार जना विदेशी खेलाडी राख्न र खेलाउन पाउने छन्। एन्फाले प्रतियोगिताभर खेलाडी तथा अफिसियललाई कोरोना लागे आइसोलेसनमा राखेर उपचार गर्नेछ।
प्रतियोगिताको विजेताले १५ लाख नगद पाउँदा उपविजेताले आठ लाख पाउने छ। त्यस्तै, तेस्रो हुनेले पाँच लाख र चौथो हुनेले तीन लाख पाउने छ। त्यस्तै, सर्वोत्कृष्ट खेलाडीले स्कुटर पाउँदा विधागततर्फ उत्कृष्ट फरवार्ड, मिडफिल्डर, डिफेन्डर, गोलकिपर र प्रशिक्षकले जनही ५० हजार नगद पाउनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।