काठमाडौं– लेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ। मंगलबार राति भएको खेलमा लेस्टरले चेल्सीलाई २–० गोलले पराजित गरेको हो।
घरेलु टिम लेस्टरका विलफ्रेड एनडिडी र जेम्स म्याडिसनले गोल गरे। खेलको सुरुवातमै गोल खाएको चेल्सी दबाबमा आएको थियो। खेलको छैटौं मिनेटमा विलफ्रेड एनडिडीले गोल गर्दै लेस्टरलाई अग्रता दिलाए। खेलको ४१ औं मिनेटमा जेम्स म्याडिसनले गोल गर्दै लेस्टरलाई २–० को अग्रता दिलाए।
पहिलो हाफसम्म २–० गोलले पछि परेको चेल्सीले दोस्रो हाफमा खेलमा फर्किने प्रयास गरेपनि गर्न गर्न सकेन। ६५ प्रतिशत बल आफ्नो पकडमा राखेपनि चेल्सीले लेस्टरविरुद्ध गोल फर्काउन नसक्दा हार ब्यहोरेको हो।
यो जितसँगै लेस्टर प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ। म्यानचेस्टर युनाइटेडलाई उछिनेको लेस्टरको १९ खेलबाट ३८ अंक छ। पराजित चेल्सीको भने १९ खेलबाट २९ अंक छ। लिगको दोस्रो स्थानमा झरेको म्यानचेस्टर युनाइटेडको १८ खेलबाट ३७ अंक हुँदा तेस्रो स्थानको म्यानचेस्टर सिटीको १७ खेलबाट ३५ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।