पोखरा- कक्षा ११ को परीक्षा गैरकानुनी तरिकाले होटलमा सञ्चालन गरेको आरोपमा ३ जना शिक्षक पक्राउ परेका छन्। पोखरा महानगरपालिका-१ पुरानो टुँडिखेलस्थित राष्ट्रिय माध्यामिक विद्यालय कास्कीका शिक्षकहरुलाई प्रहरीले पक्राउ गरेको हो।
उनीहरूले विद्यालयमा अध्ययनरत छात्रालाई कक्षा ११ को ऐच्छिक अंग्रेजी र शैक्षणिक विधि विषयको आंशिक परीक्षाका लागि होटलमा लगी परीक्षा लिएका थिए।
पक्राउ पर्नेमा पोखरा महानगरपालिका-१८ कास्कीकोट स्थायी ठेगाना भएका विद्यालयका प्रधानाध्यापक सूर्य तिवारी, रुपा गाउँपालिका-४ का शिक्षक घनश्याम रेग्मी, पोखरा महानगरपालिका-२० का शिक्षक शिरिष कुमार बस्ताकोटी छन्।
छात्रालाई होटलमा लगेर अमर्यादित कसुरजन्य काम गरेकाले शिक्षकहरुलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ। पक्राउ परेकाहरूलाई ५ दिनको म्याद थप गरी अनुसन्धान थालिएको प्रहरीले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।