‘(अदालत र निर्वाचन आयोगमा) सेटिङ भइसकेको छ भन्ने केपी र केपी गुटका मान्छेलाई तपाईं हामी क्रान्तिकारीहरू, कम्युनिस्टहरू, वामपन्थीहरू, प्रगतिशीलहरू, परिवर्तनका वाहकहरू गर्जिनुपर्ने बेला आयो। यो सामान्य औपचारिकताको कुरा होइन। शाकाहारी आन्दोलनले पुग्ने देखिँदैन। त्यसले पुग्दैन। त्यसलाई त उनले गन्नेवालै छैनन्।'
आइतबार आफू निकट विद्यार्थी संगठनको उपत्यका स्तरीय भेलामा सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले गरेको आह्वान हो, यो। शाब्दिक रुपमा उनले ‘मांसाहारी’ आन्दोलनका लागि उत्प्रेरित गरेको देखिन्छ। यद्यपि, त्यसको स्वरुप भने स्पष्ट पारेका छैनन्। अबको आन्दोलन यसअघि जस्तो शान्तिपूर्ण र सांकेतिक मात्रै नहुने भने उनको भनाईबाट स्पष्ट भएको छ।
नेकपाको प्रचण्ड-माधव पक्षले माघ ९ गतेका लागि काठमाडौंमा जनप्रदर्शनको आयोजना गरेका छन्। शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय संघर्ष समिति बैठकले प्रदर्शनको खाका तय गरेको हो। आन्दोलनको कार्यक्रम सार्वजनिक भएसँगै पार्टीका शीर्ष नेताहरूले त्यस दिन काठमाडौं उपत्यकालाई अस्तव्यस्त बनाउने सार्वजनिक रुपमै बताइरहेका थिए। प्रचण्डले भने एक कदम अघि बढेर 'शाकाहारी आन्दोलनले नपुग्ने' बताएका हुन्।
'प्रचण्ड' धङधङी
प्रचण्डको राजनीतिक उदय १० वर्षे लामो हिंसात्मक विद्रोहबाट सम्भव भएको हो। २०५२ देखि २०६३ सम्म चलेको सो विद्रोहमा झन्डै १७ हजारले ज्यान गुमाए। उनले सार्वजनिक रुपमै आफूले विद्रोहको क्रममा मारिएका पाँच हजारको मात्रै जिम्मा लिने बताए पनि मृत्युको सम्पूर्ण संख्याले उनलाई पछ्याइरहन्छ। त्यसबाट मुक्त हुन केही गरी सम्भव छैन। तर यस सँगसँगै रहेको अन्य राजनीतिक उपलब्धिको जस पनि मुख्यगरी उनैलाई जान्छ। १० वर्षे विद्रोहको जग र १९ दिने जनआन्दोलनको बलमा नेपालमा लोकतन्त्र, गणतन्त्र, धर्म निरपेक्षता, संविधान, संघीयता तथा समानुपातिक समावेशी प्रणालीको स्थापना भएको मानिन्छ। यस्ता उपलब्धिलाई संस्थागत गर्नमा नेतृत्वदायी भूमिकामा उनी समेत रहे।
२०६३ सालमा विस्तृत शान्ति सम्झौता भएपछिको राजनीतिक चरित्र चित्रण गर्दा उनी पुष्पकमल दाहाल भइसके वा 'प्रचण्ड'कै रुपमा छन् भन्ने कुरा विशेष प्राथमिकतामा पर्ने गरेको छ। शान्तिपूर्ण र मूलधारको राजनीतिको खेलाडी पनि रहेको र आफ्नो क्रान्तिकारिता पूर्ण रुपमा छाडेकाले उनी पुष्पकमलमा अवतरित भइसकेको एकथरीको भनाइ पाइन्छ।
त्यस्तै, बेलाबेला विद्रोहका कुरा गर्ने, कठोर संघर्षको कुरा गर्ने, युद्धकालका धङधङी सम्झना गर्ने भएकाले उनमा 'प्रचण्ड'पन अझै बाँकी छ भन्नेहरू पनि छन्। त्यसैले पुष्पकमल भइसकेको भन्ने र प्रचण्ड भइरहेको भन्ने दुवै पक्षबाट उनी आलोचित छन्।
उनैले ‘मांसाहारी’ आन्दोलनका लागि उत्प्रेरित गर्दा अहिले धेरैको चासो बढेको पाइन्छ। उनी स्वयंले लाठी खान मन भएको बताएका छन्। '९ गते हामी सशक्त रुपमा जाने सोचेका छौं। आन्दोलनको अग्रपंक्तिमा हामी हुन्छौं। हिजो गिरिजाबाबु, माधव नेपाल र झलनाथहरूले लाठी खाएजस्तै मेरो टाउको चिलाइरहेको छ। मलाई लाठी खान मन छ यसपटक', आइतबारको कार्यक्रममा उनले भनेका थिए।
त्यतिमात्र होइन, सोमबार काठमाडौंमै आयोजित अखिल नेपाल महिला संघको भेलामा युद्धकालकै शैलीको झल्को दिने अर्को कुरा गरे। दाहालले भेलालाई सम्बोधन गर्नेक्रममा प्रधानमन्त्री ओलीलाई खलनायक र गणतन्त्रलाई बच्चासँग तुलना गर्दै भनेका थिए, 'त्यो बच्चालाई हामीबाट खोसेर मार्ने षडयन्त्र गरिँदैछ, त्यसकारण जनअदालतले फैसला सुनाउने दिन आयो।'
‘आन्दोलन शाकाहारी हुँदैन' भनेको त मांसाहारी हुने भनेको हो। अर्थात् विप्लवी र हिंसात्मक खालको आन्दोलन गर्ने भनिएको हो,' हरि रोका भन्छन्।
उनले सडक आन्दोलनलाई इंगित गरे पनि 'जनअदालत' आफैंमा यस्तो शब्द हो जसले माओवादी युद्धकालको विभत्स तस्बिर अगाडि ल्याइदिन्छ। माओवादीसँग 'जनअदालत'को विगत यसरी जोडिन्छ, जसको 'आदेश'का नाममा 'सफाया' भनेर कैयौं निहत्थाको हत्या गरिएको थियो।
दुई दुई पटक प्रधानमन्त्री भइसकेका शीर्षस्थ नेताले रचनात्मक संघर्षको सामर्थ्य नबुझेको मान्न सकिँदैन। तर उनी त्यता अल्झिन चाहेका छैनन्। बरु, छिटो परिणाम हासिल गर्न विगतको शैलीको परिमार्जित संस्करण उपयोग गर्न खोजेको आकलन गर्न सकिन्छ। जसले उनमा ‘प्रचण्ड’को धङधङी बाँकी देखाउँछ।
राजनीतिक विश्लेषक हरि रोका भने अब उनी ‘प्रचण्ड’ बन्न नसक्ने बताउँछन्। ‘म त्यो सम्भावना छ जस्तो देख्दिनँ’, उनले भने, ‘उहाँले चाहेर पनि ‘प्रचण्ड’ बन्न सक्नुहुन्न।’
‘मांसाहारी आन्दोलन’को कठिनाइ
पुष्पकमल दाहालको अभिव्यक्तिले अबको विरोध प्रदर्शन बन्द हड्ताल, तोडफोड, झडप, शक्ति प्रदर्शन र अस्तव्यस्तता सहितको हुने स्पष्ट पार्छ। तर यी र यस्ता प्रदर्शनबाट नेपाली समाज थिलथिलो भइसकेको अवस्था छ। पछिल्ला वर्षमा त आम मानिसलाई अहसजता हुने कुनै पनि संघर्ष सफल हुन सकेको छैन। बरु, नयाँ खालका रचनात्मक र प्रविधि मैत्री संघर्षले आम प्रशंसा पाउने गरेका उदाहरण छन्।
यद्यपि, कुनै पनि राजनीतिक संघर्षको स्वरुप परिस्थितिको उपज पनि हो। अन्तिम चरणको संघर्ष ठानिने हिंसात्मक आन्दोलनको चरणमा नेपालको अवस्था पुगिसकेको छैन। कारण, राजनीतिक परिस्थिति जतिसुकै जटिल र अन्यौलपूर्ण भएको भए पनि आफ्ना अभिव्यक्ति राख्न उत्पात कठिन भइसकेको छैन। सामाजिक सञ्जालदेखि आम सञ्चार माध्यमसम्मको पहुँच र अभिव्यक्ति प्रवाह सहज नै छ। सडकमा आएर वा अन्य किसिमले वैध आन्दोलन हुन नसक्ने अवस्था पनि होइन।
‘आन्दोलन शाकाहारी हुँदैन भनेको त मांसाहारी हुने भनेको हो। अर्थात् विप्लवी र हिंसात्मक खालको आन्दोलन गर्ने भनिएको हो। त्यसखालको आन्दोलनको बेला भएको छ जस्तो मलाई लाग्दैन। त्यो त अवस्थाले सिर्जना गर्ने हो। मान्छेलाई महसुस भयो र आवश्यकता बोध गरे भने मात्रै हुने हो’, रोका भन्छन्।
शान्तिपूर्ण र रचनात्मक संघर्षमा सक्रिय पत्रकार तथा बृहत् नागरिक आन्दोलनका एकजना नेतृत्वकर्ता नारायण वाग्ले मांसाहारी आन्दोलन जनताप्रति धोका भएको बताउँछन्। सोमबार तराई मधेस राष्ट्रिय परिषद्द्वारा माइतीघर मण्डलामा आयोजित कार्यक्रममा वाग्लेले त्यस्तो संघर्षको आफूले भर्त्सना गर्ने बताए।
‘अब उनीहरू मांसाहारी आन्दोलन भन्दैछन्,' प्रचण्ड-माधव समूहलाई लक्षित गर्दै उनले भने, ‘सहिदहरूप्रति त्योभन्दा ठूलो अवमूल्यन अरु केही पनि हुन सक्ने छैन। जसले सार्वजनिक रुपमै मांसाहारी आन्दोलनका लागि जनता उक्साउँदैछ। त्यो भनेको जनताप्रतिको धोका हो। कुनै पनि हिंसात्मक आन्दोलनले नैतिक सामर्थ्य र जनताको सहयोग ल्याउने छैन। त्यसकारण म त्यसको भर्त्सना गर्दछु।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।