काठमाडौं–रविभवनस्थित सोल्टी अपार्टमेन्टको तेश्रो तल्लामा सोमबार भएको आगलागी घटनामा सुरक्षा निकायको सक्रियताले २३ जनाको सकुशल उद्दार भएको छ।
करेन्ट सर्ट भई सोमबार दिउँसो आगलागी भएको थियाे। तत्कालै प्रहरी पुगेपछि मानवीय क्षति हुन पाएन। आगलागीको जानकारी पाउनासाथ नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी आगो नियन्त्रणमा खटिएका थिए। सुरक्षा निकायका साथै स्थानीयबासी र दमकलको सहायताले आगो नियन्त्रणमा लिइएकाे थियो।
आगलागी हुँदा अपार्टमेन्टको तेस्रो तलामा १६ पुरुष र ५ महिला र २ बालबालिका गरी २३ जना थिए। उनीहरुलाई आगो नियन्त्रणमा आउनुभन्दा पहिले नै सुरक्षाकर्मीले उद्दार गरिसकेका थिए।
आगलागीमा परेर सामान्य घाइते भएका सोही अपार्टमेन्टमा बस्ने भारत घर भएकी २७ वर्षीया प्रतिभा अग्रवाल र उनको २ दिनको छोरालाई उपचारका लागि सहिद मेमोरियल अस्पताल कलंकी पठाइएको थियो। उनीहरु पनि उपचारपश्चात डिस्चार्ज भइसकेका छन्। आगलागीबाट मानवीय क्षति नभए पनि भौतिक क्षति भने भएको थियो । क्षतिको पूर्ण विवरण आइसकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।