काठमाडौं– महानगरीय प्रहरी अपराध महाशाखाले धम्क्याउँदै रकम असुल्ने गिरोहलाई पक्राउ गरेको छ।
दोलखाको मेलुङ गाउँपालिका–२ घर भएका १९ वर्षीय प्रदिप कार्की, दोलखाको शैलुङ गाउँपालिका–८ घर भएका १९ वर्षीय सुरज भण्डारी र सोही ठाउँका २१ वर्षीय किरण कार्कीलाई महाशाखाले सोमबार पक्राउ गरेको हो।
उनीहरुले काठमाडौं उपत्यकाभित्र विभिन्न व्यक्तिहरुलाई फोन तथा एसएमएस गरी ज्यान मार्ने धम्की देखाई लाखौं रकम माग गरेका थिए। उक्त जानकारी पाउनासाथ अपराध महाशाखाबाट खटिएको टोलीले उनीहरुलाई बागबजारको मोडल अस्पताल अगाडिबाट पक्राउ गरेको हो।
प्रहरीले उनीहरुको साथबाट ५ वटा मोबाइल तथा सिमहरु समेत बरामद गरेको छ। थप अनुसन्धानका लागि महानगरीय प्रहरी वृत नयाँ बानेश्वर पठाइएको महाशाखाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।