काठमाडौं–दक्षिण कोरियाली प्रिमियम सवारी उत्पादक कम्पनी स्याङयोङ मोटर्सले आफू टाट पल्टिने अवस्थामा पुगेको भन्दै निवेदन दिएको छ। योसँगै अब अन्तर्राष्ट्रिय बजारमा स्याङयोङको अवस्था के हुन्छ भन्ने प्रश्न उठेको छ।
कोरोना भाइरसका कारण कम्पनी टाट पल्टिएको घोषणा गर्दै स्याङयोङले डिसेम्बर २२ मा सियोलस्थित ब्यांकरप्सी अदालतमा निवेदन दिएको थियो। योसँगै कम्पनीले अब उत्पादनलाई निरन्तरता दिन नसक्ने बताएको छ।
स्याङयोङले कोरियाको जेपी मोर्गन बैंकलाई तिर्नुपर्ने ६० अर्ब कोरियन वन तिर्ने मिति आउनुपूर्व नै टाट पल्टिएको घोषणा गर्दै अदालतमा निवेदन दिएको हो। कम्पनीले कानुन अनुसार सम्पत्तिको व्यवस्थापन गर्ने भन्दै अदालतमा निवेदन दिने निर्णय बोर्ड बैठकबाट गराएको थियो।
स्याङयोङ मोटर्सले कर्जा तिर्न नसक्दा यो अवस्था आएको फाइनान्सियल टाइम्सले लेखेको छ। स्याङयोङ मोटर्सको ७५ प्रतिशत सेयर स्वामित्व भारतीय सवारी उत्पादक कम्पनी महिन्द्रा एन्ड महिन्द्रासँग छ।
कोरियाली सरकारले कोरोना भाइरस महामारीका कारण समस्यामा परेका उद्योगहरुलाई विभिन्न राहत प्याकेज दिएको भए पनि स्याङयोङको निर्णयमा सहयोग नगर्ने अनुमान गरिएको छ। बाह्य लगानीको बाहुल्यता रहेकाले स्याङयोङ मोटर्सको विषयमा कोरिया सरकारले थप सहयोग गर्छ भन्नेमा शंका रहेको विज्ञहरुले बताएका छन्।
कोरियाली अधिकारीहरु भने स्थानीय रोजगारीको संरक्षणमा लागिपरेका छन्। दक्षिण कोरियाली वाणिज्य मन्त्रालयले स्याङयोङको स्थानीय पार्टस सप्लायर्सलाई केही वित्तिय सहयोग गर्ने प्रस्ताव गरेको थियो।
कोरियाली कम्पनी स्याङयोङ मोटर्स १९५४ मा स्थापना भएको थियो। कोरियाका कार उत्पादक कम्पनीहरु हुन्डाई र कियापछिको सफल कम्पनीका रुपमा स्याङयोङलाई लिइन्छ। स्याङयोङ १९९० ताका युरोपेली बजारमा प्रवेश गरेको थियो।
नेपाली बजारमा स्याङयोङका गाडी लामो समयदेखि बिक्री हुँदै आएको छ। पछिल्लो समय स्याङयोङ मोटर्सको आधिकारिक बिक्रेता आइएमएस ग्रुप अन्तर्गतको आइएमएस मोटर्स रहँदै आएको छ। आइएमएस मोटर्सले नेपाली बजारमा स्याङयोङका टिभोली, एक्सएलभी र रेक्सटन एसयुभी उपलब्ध गराउँदै आएको छ। त्यस्तै स्याङयोङको पिकअप सुमोसमेत बजारमा उपलब्ध रहेको छ।
कोरियामा स्याङयोङले टाट पल्टेको घोषणा गरेको र महिन्द्राले स्याङयोङसँगको साझेदारी तोडेको जनाएको छ। महिन्द्राले स्याङयोङको सेयर बिक्रीका लागि आह्वान गरिसकेको छ। योसँगै नेपाली बजारमा स्याङयोङका सवारी आगामी दिनमा आउँछ वा आउँदैन भन्ने आशंका पैदा भएको छ। स्याङयोङ युकेको उत्पादन भने निरन्तर नै रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।