काठमाडौं–म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगमा क्रिस्टल प्यालेसलाई पराजित गर्दै दोस्रो स्थानमा उक्लिएको छ। आइतबार राति भएको खेलमा सिटीले क्रिस्टल प्यालेसलाई ४–० गोलको फराकिलो अन्तरले पराजित गरेको हो।
घरेलु टिम सिटीको जितमा जोहन स्टोन्सले दुई गोल गर्दा इल्काइ गुन्डगान र रहिम स्टर्लिङले १–१ गोल थपे। खेल अवधिभर दबाबमा खेलेको क्रिस्टल प्यालेसले पहिलो हाफसम्म एक गोल मात्रै खाएको थियो। तर दोस्रो हाफमा झनै खराब प्रदर्शन गर्दा सिटीले तीन गोल थप्न सफल भयो। सिटीका स्टोन्सले २६ औं मिनेटमा गोल गर्दै पहिलो हाफसम्म सिटीलाई १–० गोलको अग्रता दिलाए।
खेलको ५६ औं मिनेटमा इल्काइ गुन्डगानले गोल गर्दै सिटीको अग्रतालाई २–० मा पुर्याए। ६८ औं मिनेटमा स्टोन्सले अर्को गोल गर्दा सिटीले ३–० गोलको अग्रता बनाएको थियो। खेलको ८८ औं मिनेटमा स्टर्लिङले गोल गर्दै सिटीलाई ४–० गोलको जित दिलाए।
यो जितसँगै सिटी प्रिमियर लिगको दोस्रो स्थानमा उक्लिएको छ। १७ खेलबाट ३५ अंक बनाएको सिटीले शीर्ष स्थानको म्यानचेस्टर युनाइटेडसँगको अंक दूरी पनि घटाएको छ। युनाइटेडको १८ खेलबाट ३७ अंक छ। पराजित क्रिस्टल प्यालेसको भने १९ खेलबाट २३ अँंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।