काठमाडौं–डिफेन्डिङ च्याम्पियन लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडलाई पराजित गर्दै शीर्ष स्थानमा फर्किने मौका गुमाएको छ। आइतबार राति भएको खेलमा लिभरपुलले म्यानचेस्टर युनाइटेडसँग गोलरहित बराबरी खेलेको हो।
एल्फिल्ड आफ्नै मैदानमा भएको खेलमा लिभरपुलले युनाइटेडलाई पराजित गर्न सकेन। खेलअवधिभर बल नियन्त्रणमा राखे पनि लिभरपुलले गोल गर्न नसक्दा युनाइटेडसँग अंक बाँडेको हो। यो बराबरीसँग लिभरपुललले शीर्ष स्थानमा उक्लिने मौका गुमाएको छ। यता, लिभरपुललाई पराजित गरेको भए दोस्रो स्थानमा उक्लिएको म्यानचेस्टर सिटीसँग चार अंकको अग्रता बनाउने मौका युनाइटेडले पनि गुमाएको छ।
शीर्ष स्थानमा रहेको म्यानचेस्टर युनाइटेडको १८ खेलबाट ३७ अंक हुँदा चौथो स्थानमा झरेको लिभरपुलको समान खेलबाट ३४ अंक छ। दोस्रो स्थानमा रहेको सिटीको १७ खेलबाट ३५ अंक छ।
पछिल्लो खेलहरुमा लिभरपुलले लय गुमाउँदै गएको छ। यसअघि भएको खेलमा लिभरपुल साउथह्याम्पटनसँग पराजित भएको थियो। सुरुवाती खेलहरुमा उत्कृष्ट प्रदर्शन गर्दै जित निकालेको लिभरपुल लिगको मध्यतिर आइपुग्दा सेलाएको देखिन्छ। मुख्य प्रशिक्षक योर्गेन क्लोपले आफूहरुले राम्रो खेले पनि गोल गर्न नसक्नु पछिल्लो समस्या भएको बताएका छन्।
खेलपछि पत्रकारहरुसँग कुरा गर्दै प्रशिक्षक क्लोपले भनेका छन्, ‘हामीले राम्रो प्रदर्शन गर्यौं। जित्नको लागि यो पर्याप्त हो तर जित्नका लागि गोल गर्नु पर्छ। हामी गोल गर्नै चुकिरहेका छौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।