काठमाडौं- २ करोड ३२ लाख रुपैयाँ भन्दा बढी जरिवाना सुनाइएका एक व्यक्ति पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले तीन वटा बैंकिङ कसुर मुद्दामा सजाय सुनाइएका चितवनको भरतपुर महानगरपालिका–१४ हनुमाननगरका ५१ वर्षीय रामबहादुर अधिकारीलाई चितवनको खैरेनी–८ बाट पक्राउ गरेको हो।
आफ्नो खातामा पर्याप्त रकम नहुँदा पनि अधिकारीले नबिल बैंक, सनराइज बैंक, लक्ष्मी बैंक र राष्ट्रिय वाणिज्य बैंकका चेकहरु पीडित प्रमोद ढुंगेल, दण्डराज ढकाल र ब्रम्हनारायण चौधरीलाई दिई बैंकिङ कसुर गरी ठगी गरेका थिए।
उच्च अदालत पाटनले गत वर्षको पुस २५ गते अधिकारीविरुद्धको तीन वटा बैंकिङ कसुर मुद्दामा सजा सुनाएको थियो। जसमा २१ दिन कैद र २ करोड १६ लाख २४ हजार १ सय जरिवाना, १८ दिन कैद र ६ लाख ५० हजार जरिवाना र १६ दिन कैद र ९ लाख ५० हजार जरिवाना गरी २करोड ३२ लाख १ हजार १ सय जरिवाना र ५५ दिन कैद सजाय सुनाएको थियो।
त्यसैगरी बैंकिङ कसुरमै दोषी ठहर भएका अन्य दुई जनालाई पनि सिआइबीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा चन्द्रागिरी नगरपालिका–२ चिसापानीका ३१ वर्षीय सुवास थापा र गोरखाको गण्डकी गाउँपालिका–२का २९ वर्षीय विष्णु अंगाई छन्।
थापाविरुद्ध १७ दिन कैद र ५९ लाख ८९ हजार जरिवाना सुनाइएको थियो भने अंगाई विरुद्ध १ महिना कैद र १० लाख जरिवाना सुनाइएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।