काठमाडौं– पेरिस सेन्ट जर्मेन (पिएसजी) फ्रेन्च लिग वान फुटबलको शीर्ष स्थानमा उक्लिएको छ। शनिबार राति भएको खेलमा पिएसजीले एन्जर्सलाई १–० गोलले पराजित गरेको हो।
पिएसजीको जितमा लेविन कुर्जवाले गोल गरे। पहिलो हाफसम्म गोलरहित बराबरी खेलेको पिएसजीले दोस्रो हाफमा गोल गर्दै महत्वपूर्ण तीन अंक बटुलेको हो। खेलको ७० औं मिनेटमा कुर्जवाले गोल गरे। बाँकी समयमा पिएसजीले आफ्नो अग्रतालाई कायमै राख्दै जित निकालेको हो।
शनिबार राति नै भएको अर्को खेलमा मार्सेली भने लिगको पुछारमा रहेको निम्ससँग पराजित भएको छ। मार्सेली निम्ससँग २–१ गोलअन्तरले स्तब्ध बनेको हो। निम्सको जितमा निक्लास इलिसनले दुबै गोल गरे। मार्सेलीका लागि डेरियो बेनेडेटोले एक गोल फर्काएका थिए।
जितसहित लिगको शीर्ष स्थानमा उक्लिएको पिएसजीको २० खेलबाट ४२ अंक छ। पराजित एन्जर्सको २० खेलबाट ३० अंक छ। लिगको दोस्रो स्थानमा झरेको लियोनको १९ खेलबाट ४० अंक हुँदा तेस्रो स्थानको लिलीको १९ खेलबाट ३९ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।