काठमाडौं– चेल्सीले १० खेलाडीमा झरेको फुलहामविरुद्ध इंग्लिस प्रिमियर लिग फुटबलमा कठीन जित निकालेको छ। शनिबार राति भएको खेलमा चेल्सीले फुलहामलाई १–० गोलले पराजित गरेको हो।
घरेलु टिम फुलहामविरुद्ध चेल्सीका मेसोन माउन्टले गोल गरे। उनकै एक मात्र गोलमा चेल्सीले तीन अंक जोडेको हो। खेलको ४४ औं मिनेटमा फुलहाम १० खेलाडीमा सीमित भएको थियो। चेल्सीका स्पेनिस खेलाडी केसर एपिलिक्वइटालाई फोउल गरेपछि फुलहामका एन्टोनी रोविनसनलाई रेड कार्ड दिइएको थियो।
१० खेलाडीमा झरेपछि फुलहाम दबाबमा आएको थियो। तर पहिलो हाफसम्म गोलरहित बराबरीमा खेलेको फुलहामले दोस्रो हाफमा गोल खान पुग्यो।
चेल्सीका मेसोन माउन्टले खेलको ७८ औं मिनेटमा गोल गर्दै चेल्सीलाई १–० गोलको जित दिलाए।
त्यस्तै, शनिबार राति नै भएका अन्य खेलमा वेष्ट ब्रुमले वुल्भ्सलाई ३–२ गोलअन्तरले पराजित गर्दा ब्राइटनले लिड्स युनाइटेड र वेष्ट हामले बर्नलीलाई समान १–० गोलअन्तरले पराजित गरेका छन्।
जितसँगै चेल्सी लिगको सातौं स्थानमा उक्लिएको छ। चेल्सीको १८ खेलबाट २९ अंक हुँदा पराजित फुलहाम भने १७ खेलबाट १२ अंक बनाउँदै लिगको १८ औं स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।