काठमाडौं- साउथह्याम्पटनलाई पराजित गर्दै लेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ। शनिबार राति भएको खेलमा लेस्टरले साउथह्याम्पटनलाई २–० गोलअन्तरले पराजित गरेको हो।
घरेलु टिम लेस्टरको जितमा जेम्स म्याडिसन र हार्भी बर्नेसले गोल गरे। पहिलो हाफमा एक गोल गरेको लेस्टरले दोस्रो हाफमा थप एक गोल गर्दै जित निकालेको हो। खेलको ३७ औं मिनेटमा जेम्स म्याडिसनले गोल गर्दै लेस्टरलाई अग्रता दिलाए। खेलको अन्तिम समयमा हार्भीले गोल गर्दै लेस्टरलाई २–० गोलको जित दिलाए।
लेस्टरविरुद्ध साउथह्याम्पटनले राम्रो खेले पनि गोल गर्न भने सकेन। यो जितसँगै लेस्टर भने लिगको दोस्रो स्थानमा उक्लिएको छ। १८ खेलबाट ३५ अंक बनाएको लेस्टर दोस्रो स्थानमा रहँदा पराजित साउथह्याम्पटनको १८ खेलबाट २९ अंक छ।
१७ खेलबाट ३६ अंक सहित लिगको शीर्ष स्थानमा म्यानचेस्टर युनाइटेड छ। लामो समय लिगको शीर्ष स्थानमा रहेको लिभरपुल अहिले तेस्रो स्थानमा झरेको छ। लिभरपुलको १७ खेलबाट ३३ अंक छ भने चौथो स्थानमा रहेको म्यानचेस्टर सिटीको १६ खेलबाट ३२ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।