गुल्मी- ढाड दुख्ने बिरामीलाई झारफुक गरी उपचार गर्ने बहानामा फलामको रड, प्लास्टिकको पाइप र स्टिलको झाँजर तताई शरीरका विभिन्न भागमा डाम्दा बिरामीको मृत्यु भएको छ। उक्त घटनामा संलग्न रहेको एक दम्पतीलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा गुल्मी रेसुङ्गा नगरपालिका-१ ओख्रेनी तिनधारा बस्ने मालिका गाउँपालिका-६ अर्जे घर भएका ३८ वर्षीय राम प्रसाद श्रेष्ठ र उनकै श्रीमती ३६ वर्षीया शान्तिला श्रेष्ठ रहेका छन्।
राम प्रसादले आफ्नो घरमा अपरिचित व्यक्ति आई अशान्ति मच्चाइरहेको भन्दै बुधबार दिउँसो जिल्ला प्रहरी कार्यालय गुल्मीमा निवेदन दिएका थिए। त्यसपछि अनुसन्धानमा खटिएको प्रहरीले इस्मा गाउँपलिका–३ दर्लामचौर बस्ने ६४ वर्षीय राम बहादुर कुमाल (मुखिया)लाई आगोले तातो फलामले डामेर मृत्यु भएको अवस्थामा फेला पारेको थियो। उनका जेठा छोरा ३४ वर्षीय हुम बहादुर मुखिया सामान्य घाइते अवस्थामा फेला परेका थिए।
गत आइतबार श्रेष्ठको घरमा गएका कुमालको उपचार गर्ने बहानामा खाना खान समेत नदिई आगोमा तताएको फलामे वस्तुले डामेपछि सन्चो हुन्छ र आफैं एकछिनमा उठ्छन् भन्दाभन्दै उनको मृत्यु भएको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ।
साथै रेसुङ्गा नगरपालिका–५ भुवनपानी बस्ने ४० वर्षीया टोपला दमाईलाई समेत झारफुक गर्ने बहानामा श्रेष्ठले गत शनिबार बोलाई सोही विधिबाट पोली डामी घाइते बनाएको खुल्न आएको छ। टोपलालाई उपचारको लागि अस्पतालतर्फ पठाइएको छ।
अभियुक्त श्रेष्ठले कुमालको मृत्यु शंका गरी आफू जोगिनका लागि बहाना बनाई झुटो झै-झगडाको निवेदन दिएको समेत खुल्न आएको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।