काठमाडौं– बन्दी श्रीमानलाई भेट्न कारागारमा आएकी एक महिलालाई मदिरा खाएर दुर्व्यवहार गर्ने नेपाल प्रहरीका सहायक निरीक्षक कुटिएका छन्।
नख्खु कारागारमा अपहरण मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका सुजन यादवकी श्रीमतीलाई दुर्व्यवहार गर्ने असई नरबहादुर थापा कुटिएका हुन् । मंगलबार यादव र श्रीमतीबीच भेटघाट भइरहेका बेला उनले अभद्र व्यवहार गरेका थिए।
दिउँसो १ बजे मातेर सादा पोशाकमा आएका असई थापाले यादवकी श्रीमतीलाई जिस्काउने र व्यक्तिगत नम्बर माग्ने गरेका थिए । भेटघाट कक्षमा रहेका श्रीमान यादवले सम्झाउँदा समेत धम्क्याउन थालेपछि असई थापालाई कुट्दै कारागार प्रमुख कक्षमा लगिएको थियो।
कारागार प्रशासनले तत्काल महानगरीय प्रहरी अनाश्रित गुल्ममा खबर गरेपछि त्यहाँबाट आएका प्रहरीले असई थापालाई हथकडी लगाएर लगेको कारागार स्रोतले जनाएको छ।
नख्खु कारागारका प्रमुख उपसचिव टेकबहादुर केसीले भेटघाटमा आएका परिवारसँग दुर्व्यवहार भएपछि तत्काल असई थापालाई फिर्ता पठाएको बताए।
‘भेटघाटका लागि आएकी महिलासँग दुर्व्यवहार भयो भन्ने जानकारी पाएपछि फिर्ता पठाएका छौं, सामान्य घटना हो,’ उपसचिव केसीले नेपाल लाइभसँग भने।
बन्दी सुजन यादवले कारागारबाटै नेपाल लाइभसँग कुरा गर्दै आफू र श्रीमतीबीच वार्तालाप भइरहेका बेला असई थापाले मादक पदार्थले मात्तिएर श्रीमतीसँग दुव्र्यवहार गरेको बताए । उनले असई थापाले यसअघि समेत नख्खु कारागारमा भेटघाटमै आएकी अर्की एक महिलासँग पनि दुर्व्यवहार गरेको निवेदन परे पनि कारबाही नहुँदा उनको मनोबल बढेको बताए ।
गुल्ममा प्रमुख डिएसपी राजकुमार सिलवालले घटना सामान्य भएको बताउँदै थापालाई फिर्ता ल्याएर कारबाही थालेको जानकारी दिए । उनले मेडिकल रिपोर्टमा थापाले मदिरा सेवन गरेको भने नदेखिएको दाबी गरे।
यता, ललितपुर प्रहरी प्रमुख एसएसपी गणेश ऐरसँग बुझ्दा घटनाका विषयमा कुनै जानकारी नै नआएको प्रतिक्रिया दिएका छन । नख्खु कारागार महानगरीय प्रहरी परिसरको सुरक्षा मातहतमा रह ेपनि घटनाका बिषयमा परिसर प्रमुखलाई नै जानकारी दिइएको छैन।
‘मलाई त केही जानकारी नै भएन, के भएको रहेछ ?’ एसएसपी ऐरले नेपाल लाइभलाई प्रतिप्रश्न गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।