जयपुर- आइपिएल क्रिकेटमा राजस्थान रोयल्सले चेन्नई सुपरकिंग्समाथि रोमाञ्चक जित हात पारेको छ। राजस्थानले शुक्रबार भएको खेलमा चेन्नईलाई ४ विकेटले पराजित गरेको हो। जितसँगै ११ खेलबाट १० अंक जोडेर छैटौं स्थानमा रहेको राजस्थानको प्लेअफ पुग्ने संभावना बढेको छ। यता हारपछि चेन्नईले प्लेअफमा पुग्न अर्को खेल कुर्नु पर्ने भएको छ। दोस्रो स्थानको चेन्नईको ११ खेलबाट १४ अंक छ।
शुक्रबार चेन्नईले दिएको १ सय ७७ रनको लक्ष्य राजस्थानले १ बल बाँकी छदा ६ विकेट गुमाएर पार गर्यो।
राजस्थानको जितमा ओपनर जोस बटलरले उत्कृष्ट ब्याटिङ गरे। उनले नटआउट ९५ रन जोडे। अन्तिम ओभरमा उनले जितका लागि चाहिएको १२ रन जोडेका थिए। उनले ६० बलमा ११ चौका र २ छक्का प्रहार गरे। त्यसअघि १९ ओभरमा २ छ्क्का प्रहार गरेका कृष्णप्पा गोथानले ४ बलमा १३ रन जोडे।
खराब सुरुवात गरेको राजस्थानका वेन स्टोक्स ११ र अजिन्का राहाणे ४ रनमा आउट भएका थिए। यस्तै सन्जु सामसनले २१ रन भन्दा बढी जोड्न सकेनन् भने स्टुवार्ड विनीले २२ रनकको योगदान दिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चेन्नईले ४ विकेट गुमाएर १ सय ७६ रन जोड्यो। चेन्नईका लागि सुरेश रैनाले ५२ रन जोडे। उनले ३५ बलमा ६ चौका र १ छक्का प्रहार गरे। महेन्द्रसिंह धोनीले २३ बलमा नटआउट ३३ रन बटुले। साम विलिङ्ग्सले २२ बलमा २७ रन बटुले। त्यसअघि ओपनरद्वय सेन वाटसनले ३९ रन र अम्बाती रायदुले १२ रनको योगदान दिएका थिए। बलिङतर्फ राजस्थानका जोफ्रा आर्चरले २ विकेट लिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।