काठमाडौं- सशस्त्र प्रहरी बल, नम्बर २ छिन्नमस्ता बाहिनी पथलैयाले सीमा नाकामा हुने अवैध निकासीपैठारी रोक्न विशेष अपरेसन सञ्चालन गरेको छ।बाहिनीपतिको जिम्मेवारी सम्हालेपछि सशस्त्र डिआइजी चन्द्रप्रकाश (सिपी) गौतमले तस्करीविरुद्ध कडा कदम चाल्न आफू मातहतका निकायलाई निर्देशन दिएका थिए।
गौतमले जिम्मेवारी सम्हालेदेखि (मंसिर १५)देखि पुस २१ गतेसम्ममा अवैध निकासीपैठारीतर्फबाट मात्रै ३ करोड ४१ लाख ६१ हजार ६ सय ४६ रुपैयाँ राजस्व संकलन भइसकेको छ।
पुस १० गते मात्रै पर्साको जगनाथपुर गाउँपालिका-१ विसनर्पास्थित बोर्डर आउट पोस्ट (बिओपी) पिठारीगुठीले नेपाल भारत सीमा क्षेत्रमा बालुवा उत्खनन गर्दै गरेको भारतीय ट्रकलाई नियन्त्रणमा लिएको थियो।
यसरी अवैध उत्खनन र आसोरपसार गर्ने १८ वटा ट्याक्टर, १ वटा जेसिबी, १ वटा ट्रक एक महिनाको अवधिमा नियन्त्रणमा लिइएको बाहिनी स्रोतले जानकारी दिए।
छिन्नमस्ता बाहिनी मातहतका सिरहा, सप्तरी, धनुषा, बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरीमा भएका गण तथा बिओपीहरूले चोरी निकासी तथा गैरकानुनी काम गर्ने १७ जनालाई पक्राउ गरेर बुझाएको छ।
त्यस्तै चार थान पेस्तोल, २ राउन्ड गोली र १ थान म्याग्जिन पनि बरामद गरिएको डिआइजी गौतमले जनाएका छन्। ठूलो मात्रामा लागु औषध समेत बरामद गरिएको छिन्नमस्ता बाहिनीले जनाएको छ।
आन्तरिक शुद्धीकरण : १ महिनामा ८० जना कारबाहीमा
बाहिनीले आन्तरिक शुद्धीकरण अभियान पनि थालेको छ। आफू मातहतका सशस्त्र प्रहरी कर्मचारीले गलत काम गर्ने कारबाहीको भागीदार बन्न थालेका छन्।
आन्तरिक शुद्धीकरणतर्फ एक महिनामा ८० जना सशस्त्र प्रहरी कारबाहीको दायरामा ल्याइएको बाहिनीले जानएको छ।
सीमा इलाकामा रहेका बेस तथा बिओपीहरुमा कार्यरत रहेर राम्रो काम गर्न नसकेको भन्दै ६९ जनालाई तानिएको छ। यो सामान्य कारबाहीतर्फको विवरण हो। काम सन्तोषजनक नगरेको भन्दै केही इन्जार्च प्रमुख समेत हटाएर नयाँलाई पठाइएको समेत स्रोतले उल्लेख गरेको छ।
सन्तोषजनक काम नगरेको भन्दै २ जना बेस प्रमुख हटाएर नयाँ पठाइएको छ। त्यस्तै २ जना बिओपी प्रमुखलाई हटाएर अर्को दुई जनालाई पठाइएको छ। २ जनाको ५ वर्षसम्म तलव वृद्धि रोक्का गरिएको छ भने २ जनालाई नसिहत दिइएको छ। यस्तै १ जनाको पद घटुवा गरिएको छ भने १ जना निलम्बन र १ जनालाई सेवाबाटै हटाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।