रूकुम- रुकुम पूर्वको सिस्ने गाउँपालिका–१का नागरिकले घरआगनमा पहिलो पटक विशेषज्ञ स्वास्थ्य सेवा पाएका छन्। मुख्यमन्त्री ग्रामीण तथा रोजगार कार्यक्रमको आर्थिक सहयोग र फेमस पोलिक्लिनिक त्रिवेणी गाउँपालिका रुकुम –पश्चिमको प्राविधिक सहयोगमा स्वास्थ्य शिविरमा स्थानीयले सेवा पाएका हुन्।
दुई दिनसम्म चलेको स्वास्थ्य शिविरबाट २ सय २१ जनाले सेवा पाएका थिए। शिविरमा सेवा लिनेमा पुरुषभन्दा महिलाको संख्या दोब्बरभन्दा बढी रहेको छ। शिविरबाट ७० पुरुष र एक सय ५१ जना महिलाले सेवा लिएका कार्यक्रमका संयोजक लिलामणि गौतमले जानकारी दिए। शिविरमा भिडियो एक्सरे गरिनुका साथै स्त्री रोग सम्बन्धी सम्पूर्ण रोगहको जाँच तथा उपचार, मुटुरोग, रगत, मधुमेह, रगत, खकार जाँच समेत गरिएको थियो।
शिविरमा ८० को भिडियो एक्सरे गरिएको थियो। पाठेघर सम्बन्धि समस्या भएका नौलाई नेपालगञ्ज रिफर गरिएको छ। उनीहरुको त्यहाँ निःशुल्क उपचार गरिनेछ। यस्तै दुईमा एचआइभी पोजेटीभ देखिएको छ भने एक जना हेपाटाइटीसका बिरामी फेला परेका छन्।
शिविरमा सबैभन्दा बढी पाठेघर बाहिर निस्केका र सुत्केरी हुँदा पाठेघर च्यातिएर अहिलेसम्म पनि पानी र रगत बगिरहने समस्याका बिरामी भेटिएका उपचारमा संलग्न चिकित्सकले जानकारी दिएका छन्। एचआइभी पोजेटीभ देखिएका दुई जनालाई भने रुकुम –पूर्व अस्पतालमा रिफर गरिएको छ।
शिविरमा स्त्री रोग विशेषज्ञ डा रामकुमार दास, जनरल फिजिसीयन डा अरविन्दकुमार यादवलगायत अन्य स्वास्थ्यकर्मीले सेवा प्रदान गरेका थिए। जिल्लाको दुर्गम क्षेत्रमा सञ्चालन गरिएको उक्त शिविर त्यहाँका नागरिकको लागि वरदान सावित भएको सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बरालले जानकारी दिइन्।
सदरमुकाम आउन पनि हिँडेर एकदेखि दुई दिनसम्म लाग्ने त्यहाँका नागरिकलाई घरआँगनमै गएर स्वास्थ्य सेवा दिएपछि खुशी भएका छन्। निरन्तरको दुई दिनको पैदल यात्रापछि स्वास्थ्यकर्मीको टोली वडा नं १ को भट्टेचारैमा पुगेर शिविर सञ्चालन गरेको हो भने औषधी पनि बोकेरै पुर्याइएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।