काठमाडौं- सामाखुशीबाट करिब ३० तोला सुन लुटिएको दाबी गरिएको घटनामा प्रहरीको भूमिका शंकास्पद देखिएपछि छानबिन गर्न समिति गठन गरिएको छ।
महानगरीय प्रहरी कार्यालय (मेट्रो) रानीपोखरीले तीन सदस्य छानबिन समिति गठन गरेको हो। एसपी भोलाराज रावलको संयोजकत्वमा महानगरीय प्रहरी अपराध महाशाखाका डिएसपी निशान थापा र काठमाडौं परिसरका डिएसपी प्रमेश विष्टसहितको समिति बनेको मेट्रोका डिआइजी हरि पालले जानकारी दिए।
पुस १० गते सामाखुशीबाट ६ तोला दरका ५ वटा सुनको ब्रास्लेट लुटिएको दाबी गरिएको छ। दोलखाका संयोग कार्की, सुवास तिमल्सिनासहित ५ जनाको समूहले आफूहरुको ३० तोला बराबरको सुन सुर्खेतका दीपक नेपालीसहितको टोलीले किन्ने भनेर लुटेको आरोप लगाएका छन्।
काठमाडौं परिसरका प्रमुख एसएसपी अशोक सिंहले भने उनीहरूले आरोप लगाए पनि लुटिएको हो भन्ने प्रमाण फेला नपरिसकेको दाबी नेपाल लाइभसँग गरे।
पीडितहरुले भने सुन लुटिएको भन्दै महानगरीय प्रहरी प्रभाग बसपार्कका सई नवराज इटानीलाई जानकारी गराएका थिए। त्यसपछि सई इटानीको टोलीले लुटका योजनाकार नेपालीसहितलाई पक्राउ गरिएको दाबी गरिएको छ।
पक्राउ परेका व्यक्तिलाई महानगरीय प्रहरी वृत्त महाराजगञ्ज पठाइएको र केही समय केरकार गरेर छाडिएको भनिएको छ। यद्यपि लुटिएको दाबी गरिएको सुनको बारेमा अहिलेसम्म कुनै प्रमाण फेला परेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।