फाइल तस्बिर
पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक दलहरुको इमान्दारीतामाथि समिक्षा गर्न विलम्ब भएको टिप्पणी गरेका छन्। २९९ औं पृथ्वी जयन्तीको पूर्वसन्ध्यामा एक विज्ञप्ति जारी गर्दै ज्ञानेन्द्रले दलहरुको इमान्दारिता र राष्ट्र केन्द्रित र कति जनहितअनुकल छ‚ त्यसको समीक्षा हुन अब विलम्ब भइसकेको उल्लेख गरेका हुन्।
‘हाम्रा निम्ति देश र जनताको हित नै सर्वोपरि रहँदै आएको छ‚’ विज्ञप्तिमा उल्लेख गरिएको छ‚ ‘हाम्रो विचारमा राजनीति भन्नु नै देश सेवाको उच्चतम साधन हो।’
विज्ञप्तिमा भनिएको छ‚ ‘परिवर्तनका नाममा आफ्नो इतिहास, सभ्यता, धर्म, संस्कृति र एकता भत्काउँदै पराया ईच्छा पुरा गर्ने अवान्छित क्रियाकलाप यहाँ भित्रिएको महशुस आम नेपालीले गर्नुपरेको छ।’
राष्ट्रिय अखण्डताका निम्ति एकताको गाँठो बलियो पार्नुपर्ने भन्दै उनले यसको औचित्य हिजो थियो, आज र भविष्यमा पनि रहने दावी गरेका छन्। उनले यसैमा पृथ्वी जयन्तीको सार्थकता रहनेसमेत उल्लेख गरेका छन्।
यस्तो छ विज्ञप्ति
पूर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट २९९ औं पृथ्वी जयन्ती
तथा राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा बक्सेको शुभकामना ।
नेपाल निर्माता तथा नेपाली एकताका प्रतिक श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको २९९ औं जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा मौसूफप्रति श्रद्धास्मरण गर्दै हामी समस्त नेपाली दिदी बहिनी तथा दाजु भाइहरुमा प्रेम, सद्भाव र एकताका निम्ति शुभकामना व्यक्त गर्दछौं ।
नेपाली भनेका नेपाली नै हुन । कुनै अर्को जलप लगाएर हुदैन भन्ने अपार राष्ट्रभक्तिले ओत प्रोत भएर बडामहाराजाधिराजबाट नेपाल राष्ट्र निर्माणमा आफ्नो पुरै जीवन समर्पण गरिबक्सेको तथ्य स्मरण मात्र हुँदा पनि हामी सबै नेपाली गौरवान्वित हुने गर्दछौ । यो समयमा हामी देश कसरी जोगाउन सकिएला भन्ने चिन्ताग्रस्त अवस्थामा छौं । तर त्यो समय केबल आफ्नो परिकल्पनामा सिमित देशलाई आकारमा ल्याउन सानो चातर्य, साहस र वीरताबाट मात्र सम्भब थिएन । दैवीक आशीर्वाद, अध्यम् साहस, पौरख र कूटनीतिक कौशलको अद्वितीय क्षमताबाट मात्र देवभूमी नेपालको स्थापना भएको हो । नेपालको निर्माणमा हरेक जातीय, भाषिक र सांस्कृतिक समुदायका आ(आफ्नै विशिष्ठ योगदान छन् । संसारमा कतिपय देश जाती, भाषा र धर्मका नाममा परस्पर मतभेदबाट उत्पत्ति भएका छन् तर नेपाल विश्वको एकमात्र त्यस्तो मुलुक हो जुन सबै जातीय, भाषिक र सांस्कृतिक संम्प्रदायको साझा प्रयासको उपज हो । त्यसैले आज पनि राष्ट्रनिर्माता बडामहाराजाधिराजबाट मार्गदर्शनका निम्ति बक्सेको दिव्यउपदेश नेपालको अस्तित्व रक्षा, नेपालीको एकता र मुलुकको सम्मृद्धि लक्षित भएको महसूस हामी सबैले गरेका छौं ।
जनचाहना बमोजिम अघि बढ्नु शाहवंशीय राजपरम्पराका विशेषता भएको तथ्य कसैबाट छिपेको छैन । राष्ट्रियता, राष्ट्रिय एकता, राष्ट्रिय स्वाभिमान र राष्ट्रियहितलाई केन्द्रमा राखेर अघि बढ्ने क्रममा देशको आवश्यकता र जनताको चाहना हुँदा शाहवंशीय राजाहरुले सक्रय भूमिका मात्र निर्वाह गरेका छैनन्, संम्बैधानिक राजतन्त्रको मर्यादा अनुरुप व्यवहार भएको छ र राजगद्दी त्याग्ने सम्मको उच्च साहस र इमान्दारी पनि दर्शाएका छन् । हाम्रा निम्ति देश र जनताको हित नै सर्वोपरि रहंदै आएको छ । हाम्रो विचारमा राजनीति भन्नु नै देश सेवाको उच्चतम साधन हो । तर हामीले व्यहोरेको राजनीति
इमान्दार र राष्ट्रकेन्द्रित छ, कति जनहित अनुकल छ त्यसको समीक्षा हन अब विलम्ब भैसकेकोछ । परिवर्तनका नाममा आफ्नो इतिहास, सभ्यता, धर्म, संस्कृति र एकता भत्काउदै पराया ईच्छा पुरा गर्ने अवान्छित कृयाकलाप यहां भित्रिएको महसूस आम नेपालीले गर्नु परेको छ ।
राष्ट्रिय अखण्डताका निम्ति हामीले एकताको गांठो बलियो पार्नु पर्दछ । यसको औचित्य हिजो थियो, आज छ र भविश्यमा पनि रहनेछ । यसैमा पृथ्वी जयन्तीको सार्थकता रहन्छ भन्ने हाम्रो मान्यता हो।
जय नेपाल ।
२०७७ पुष २७ गते
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।