काठमाडौं- महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक प्रहरीको अनुपस्थितिमा हुने ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनलाई निगरानी गरी कारबाही गर्नका लागि ‘ट्राफिक सर्भिलेन्स भेइकल’ परिचालन गरेको छ। आइतबारदेखि ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनलाई निगरानी गरी कारबाही गर्न र सचेतना प्रदान गर्नका लागि ‘ट्राफिक सर्भिलेन्स भेइकल’ परिचालन गरेको हो।
उपत्यकाको व्यस्त सडकहरुमा हुने सवारी चापलाई व्यवस्थापन गर्न र फराकिला सडकहरुमा हुने तीव्र गतिलाई नियन्त्रण गर्न आइतबारदेखि सिसिटिभी क्यामराजडित भेइकल परिचालन गरिएको हो।
कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले माइक्रोबस आकारको सर्भिलेन्स भ्यानको छतमा जडित सिसिटिभी क्यामेराले करिब २०० मिटरसम्मको दृश्यलाई कैद गर्न सक्ने बताए।

उनले पिक आवरमा सवारी चाप (जाम) हुने क्षेत्र र धेरै मात्रामा ट्राफिक नियम उल्लंघन हुने क्षेत्रमा भ्यानले बढी निगरानी गर्ने बताएका छन्।
भ्यानमा खटिने ५ जना ट्राफिक प्रहरीले दैनिक सवारी आवागमनको नियमन गर्ने र सडकका गतिविधिहरुलाई भिडियो तथा फोटोमा कैद गर्न मिल्ने प्रविधि जडान गरेको छ।
यसले ट्राफिक व्यवस्थापनमा महत्वपूर्ण सहयोग गर्ने र आम चालकहरुलाई प्रमाणसहित कारबाही गर्न र थप सचेतना जगाउन सहयोग हुने अपेक्षा रहेको भट्टराईले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।