काठमाडौं- नेकपाका प्रवक्ता तथा राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य गर्ने कदमप्रति आफूहरुको विरोध गरेको बताएका छन्।
आइतबार पुष्पकलम दाहाल प्रचण्ड र माधव कुमार नेपाल पक्षको सचिवालय बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै उनले भने- प्रतिनिधि सभाको असंवैधानिक ढंगले विघटन गरिएको अवस्थामा राष्ट्रिय सभा जनताको आवाजलाई प्रतिनिधित्व गर्ने बाँकी रहेको संसद्को थलो थियो। त्यसलाई अचानक अन्त्य गर्ने जो काम गरियो। त्यसप्रति हाम्रो विरोध छ।
आइतबार राष्ट्रिय सभामा प्रधानमन्त्रीको सम्बोधनलाई बहिस्कार गर्नुलाई उनले प्रधानमन्त्रीको सम्बोधनलाई अस्वीकार गरेको रुपमा अर्थ्याए। 'प्रधानमन्त्रीले असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगामी कदम चालिसकेपछिको पहिलो उहाँको सम्बोधनलाई अस्वीकार गर्ने कदमको रुपमा आजको बैठकमा सहभागी नभएका हौँ', उनले भने।
आइतबारको राष्ट्रिय सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यसूची थियो। तर बैठकमा भाग लिन पुगेका नेकपाका २३ जना सांसद् भने प्रधानमन्त्रीको सम्बोधनअघि नै संघीय संसद् भवनबाट बाहिरिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।