काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद पुनर्स्थापनाका लागि पार्टी सडकमै जानुपर्ने जोड गरिरहँदा पार्टी सभापति शेरबहादुर देउवाले उनलाई बीचमै रोक्ने प्रयास गरेका छन्।
सूर्यप्रसाद उपाध्याय विशेष पुस्तकको लोकार्पण गर्न आयोजित कार्यक्रममा वरिष्ठ नेता पौडेलले संविधान बनाउने जिउँदै रहेको तथ्य सुनाएका थिए। त्यसलाई रोक्ने प्रयास सभापति देउवाले गरेका थिए।
‘संविधान हामी बनाउने थियौं। प्रतिनिधिसभा पुनर्स्थापन हुन्छ, हुन्छ, हुन्छ। कांग्रेस त्यसकै लागि सडकमा जानुपर्छ। संविधान बनाउने जिउँदै छौं,’ पौडेलले पुनर्स्थापनाको कुरा गर्दैगर्दा देउवाले बीचमै बोले। संविधान बनाउँदा आफू पनि रहेको पौडेललाई सभापति देउवाले सुनाए। पौडेल बोल्दै गर्दा बीचमा देउवाले हस्तक्षेप गरेपछि उनले मन्तव्य छोट्याए।
प्रतिनिधिसभा विघटन हुँदासमेत कांग्रेसको प्रष्ट दिशा नभएको प्रति पौडेलले सभापतिको कार्यक्षमतामाथि देउवाकै अघि सार्वजनिक रूपमा नै प्रश्न उठाएका थिए। उनले भने, ‘कांग्रेसको नीति ढुलमुले भयो। संविधान बचाएर चुनावमा जाऔं,’ प्रधानमन्त्री केपी शर्मा ओलीको फासिस्ट भएको उनले आरोप लगाए। कांग्रेसकै नेतृत्वमा संविधान बनेकाले बचाउन पनि कांग्रेस नै अघि बढ्नुपर्ने उनको भनाइ थियो।
पौडेलपछि बोलेका सभापति देउवाले अदालतमा मुद्दा रहेको बताउँदै भने, ‘सबैभन्दा ठूलो अदालत जनता हो। विचाराधीन मुद्दामा हामीले बोल्नुहुँदैन। यो पार्टीको नीति हो।’
प्रधानमन्त्रीको कदम असंवैधानिक भएको ठहर गरी सडकमा प्रर्दशन गरिएको उनले सुनाए। नेता अर्जुननरसिंह केसीले पृथ्वीनारायण शाहले राष्ट्र एकीकरण गरेकाले एकता दिवस कांग्रेसले मनाउनुपर्ने विचार राखे। निर्वाचन आएकाले समेत पृथ्वी नारायण शाहको योगदान सम्झँदा लाभ हुने उनको तर्क थियो।
सडकमा ‘राजा आऊ, देश बचाऊ’को नारा लागिरहेको बेला पृथ्वी जयन्ती मनाउन नसकिने देउवाको प्रतिवाद थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।