काठमाडौं- आइतबारको राष्ट्रिय सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यसूची थियो। तर बैठकमा भाग लिन पुगेका नेकपाका २३ जना सांसद् भने प्रधानमन्त्रीको सम्बोधनअघि नै संघीय संसद् भवनबाट बाहिरिए।
'प्रधानमन्त्रीको भाषणको औचित्य नरहेकाले हामीले बहिस्कार गरेका हौं', बहिस्कार गर्ने मध्येका एक सांसद् वेदुराम भुसालले भने।
उनले २३ जना सांसदले नै सामूहिक निर्णय लिएको जानकारी दिए।
राष्ट्रिय सभाका ५९ सांसद्मध्ये नेकपाका ५० जना सांसद् (राष्ट्रपतिबाट मनोनित समेत) छन्।
त्यस्तै अधिवेशन अन्त्य गर्ने कदमलाई भुसालले लोकतन्त्र विरोधी कदमको रुपमा अर्थ्याए। उनले प्रश्न र आलोचनाबाट भाग्ने शैलीकै निरन्तरता स्वरुप राष्ट्रिय सभाको अधिवेशन अन्त्य भएको बताए। 'अधिवेशन अन्त्य गर्नु भनेको बोली थुन्नु हो', उनले भने।
गत १७ गते सुरु भएको राष्ट्रिय सभाको हिउँदे अधिवेशन आइतबार मध्यरातबाट अन्त्य हुँदैछ। आइतबारै बसेको मन्त्रिपरिषद्को बैठकले अधिवेशन अन्त्यको लागि राष्ट्रपतिलाई सिफारिस गरेको थियो। सोही अनुसार राष्ट्रपतिले अधिवेशन अन्त्य गरेकी छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।