काठमाडौं- नापी कार्यालयका तत्कालीन प्रमुखसहित १७ जनाविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले २ करोड रुपैयाँभन्दा बढी माग दाबी गर्दै मुद्दा दायर गरेको छ। अख्तियारले उनीहरूविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।
ललितपुर महानगरपालिका वडा नं. २३ स्थित सिलौटेमा पर्ने कर्मनासा (कोड्कु) खोला एवं सो खोला आसपासको सरकारी र सार्वजनिक जग्गा यूरो हाउजिङ डेभलपर्स कम्पनीले मालपोत तथा नापी कार्यालयको मिलेमतोमा अतिक्रमण गरिएको अख्तियारको ठहर छ।
मिलेमतोमा जग्गा पास गरेको उजुरीमा अनुसन्धान हुँदा कर्मचारीहरू र उक्त कम्पनीका संचालकहरुको एकआपसमा मिलेमतो, गैरकानुनी र प्रत्यक्ष संलग्नतामा ललितपुर महानगरपालिका वडा नं. २८ र २३ का ८ रोपनी १२ आना ३ पैसा २ दाम सरकारी जग्गा हिनामिना गरेको पुष्टी भएको अख्तियारले दाबी गरेको छ।
नापी कार्यालय ललितपुरका तत्कालीन प्रमुख बुद्धिमान जैसी, नापी अधिकृत बालेश्वर यादव र सर्वेक्षक केशव थापा मगरविरुद्ध २ करोड २ लाख ३३ हजार ६ सय ७१.८८ रुपैयाँ बिगो असुलउपर गरी पाउनसमेत मागदावी गरिएको छ।
अर्का तत्कालीन कार्यालय प्रमुख उपसचिव बाबुराम खनाल, नासु ख्याम नारायण पौडेल, नासु. दिनेश न्यौपाने र खरिदार आत्माराम लुइँटेलविरुद्ध समेत २ करोड २ लाख ३३ हजार ६ सय ७१.८८ रुपैयाँ बिगो दाबी गरिएको छ। त्यसैगरी युरो हाउजिङका गुणीकाजी मानन्धर, योगेश्वर कृष्ण पराजुली, कृष्ण राज श्रेष्ठ, टंक बहादुर श्रेष्ठ, गोपालदाश मानन्धर, वविन मानन्धर र उज्जल मानन्धर र यूरो ल्याण्ड डेभलपर्सका संचालकविरुद्ध समेत २ करोड २ लाख ३३ हजार ६ सय ७१.८८ रुपैयाँ विगो दाबी गरिएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।