काठमाडौं– नेपाल पुलिस क्लबले दमक गोल्डकपको उपाधि जितेको छ। शुक्रबार भएको फाइनल भिडन्तमा पुलिसले मनाङ मर्स्याङ्दी क्लबलाई १–० गोलले पराजित गर्दै उपाधि जितेको हो।
पुलिसको जितमा रेजिन सुब्बा नायक बने। उनले खेलको ८८ मिनेटमा गरेको गोल निर्णायक बन्दा पुलिसले सिजनको पहिलो उपाधि जितेको हो। सुब्बाले हेडमार्फत बललाई जाली चुमाएका थिए।
त्यसअघि पुलिसको तर्फबाट खेलेका राष्ट्रिय टिमका पहिलो रोजाइका गोलकिपकर किरण चेमजोङले मनाङको गोल गर्ने प्रयासलाई विफल पारेका थिए।
यसअघि सेमिफाइनलमा मनाङले बुधबार त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा ५–४ ले पराजित गर्दै प्रतियोगिताको फाइनलमा प्रवेश गरेको थियो। पुलिसले मंगलबार एपिएफलाई १–० गोलअन्तरले पाखा लगाएको थियो।
उपाधिसँगै विजेता पुलिसले १३ लाख ११ हजार तथा उपविजेता मनाङले ६ लाख ११ हजार रुपैयाँ प्राप्त गरेका छन्।
सर्वाधिक गोलकर्ताको पुरस्कार मदन भन्डारी स्पोर्टसका म्याक्स, एपिएफका हरि कार्की र आर्मीका नवयुग श्रेष्ठले संयुक्तरुपमा प्राप्त गरे। तीनैले २५ हजार रुपैयाँ बराबर रुपमा दिइने जनाइएको छ।
पुलिसका किरण चेमजोङले प्रतियोगिताको मोस्ट भ्यालुएबल खेलाडी घोषित भए। उनले अपाचे मोटरसाइकल प्राप्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।