फाइल तस्बिर
काठमाडौं- बागमती सफाइ महाअभियानको ४ सय हप्ता पूरा भएको छ। २०७० जेठ ५ गते तत्कालीन मुख्यसचिव लीलामणि पौडेलको नेतृत्वमा शुरु भएको बागमती सफाई महाअभियानले ४ सय हप्ता पूरा गरेको हो।
‘स्वच्छता हाम्रो पहिचान, सफाइमा मेरो योगदान’ नारा दिएर बागमती सफाइ शुरु भएको थियो। शनिबार फोहोरमैला व्यवस्थापन संघले बागमती सफाई महाअभियानको ४ सय हप्ता पुगेको अवसरमा काठमाडौंको मिनभवनमा विशेष कार्यक्रमसमेत गरेको छ।
कार्यक्रममा बागमती सफाई अभियान्ताहरुले नदीमा फोहोर फाल्न हुँदैन भन्ने जनचेतना फैलाउनु मुख्य कुरा भएको बताए। यस्तै सरकारले बागमतीलगायत कुनैपनि नदीमा फोहोर फाल्ने, ढल मिसाउने काम गर्नेलाई कानूनी कारबाही हुनेगरी कानून निर्माण गर्नुपर्नेमा जोड दिएका छन्।
कार्यक्रममा सहभागिता जनाएकी कलाकार मनिषा कोइरालाले सबै नागरिकहरुलाई बागमती सफाइमा लाग्न आग्रह गरिन्। नदीमा मिसाइँदै आएको फोहोरलाई आधुनिक प्रविधिको प्रयोग गरी उर्जा उत्पादनमा लगाउने योजना सरकारले ल्याउनुपर्ने उल्लेख गरे।
कलाकार आनी छोइङ डोल्माले पनि शरीरलाई रक्तसञ्चारले सफा गरेजस्तै नदीलाई मानिसहरुले सफा गर्नुपर्ने बताए। वातावरणीय हिसाबले पनि नदी सफा राख्नुपर्ने उनको भनाइ छ। कुनैपनि नदीमा ढल मिसाउने, प्लास्टिक फाल्ने, घरमा निस्कने फोहोर फाल्ने चलनको अन्त्य गर्नुपर्ने उनले उल्लेख गरिन्।
'मानिसहरुलाई कुनैपनि फोहोर नदीमा फाल्नु हुँदैन भन्ने शिक्षा दिनुपर्नेछ। राज्यले पनि फोहोर तथा ढल नदीमा मिसाउन नहुने सम्बन्धमा छुट्टै कानून निर्माण गर्नुपर्छ,' डोल्माले भनिन्।
बागमती सफाईको ४ सय हप्ताको अवधिमा नदी संरक्षणका लागि सचेतना जगाउन तथा नदीमा फ्याँकिएको फोहोर हटाउन नागरिक स्तरबाट उल्लेख्य सहभागिता भएको जनाइएको छ।
महाअभियानमा सरकारी कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नागरिक अगुवाहरु, कलाकार, विद्यार्थी, विभिन्न संघसंस्थाहरु र जनप्रतिनिधिहरुको सहभागिता हुने गरेको छ। प्रत्येक शनिबार नागरिकहरु स्वतस्फूर्त रुपमा बागमती सफाइमा जुटेपछि अहिले बागमती नदीको फोहोरमा कमी आएको छ।
नदी किनारामा बगैंचा निर्माण हुने रुख रोप्ने लगायतका काम भएका छन्। बागमती नदीको विभिन्न ठाउँमा २६ वटा पार्क निर्माण गर्ने लक्ष्य राखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।