काठमाडौं- हास्य कलाकार हरिवंश आचार्यले नेपाली राजनीतिको फोहोरी खेलले जनतालाई दुःख दिइरहेको टिप्पणी गरेका छन्। शुक्रबार न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै कलाकार आचार्यले ४० वर्ष अगाडि आफूहरुले कलाकारिता सुरु गर्दा जस्तो अवस्था थियो, अहिले व्यक्ति परिवर्तन भए पनि प्रवृत्ति परिवर्तन हुन नसकेको बताएका हुन्।
राजनैनिक विसंगतिले गुन्डा प्रवृत्तिका व्यक्ति संसदमा छिरेको पनि टिप्पणी उनले गरे। कलाकार आचार्यले भर्खरै समसामयिक राजनीतिलाई समेटेर एक व्यङ्ग्यमिश्रित गीत पनि सार्वजनिक गरेका छन्।
गीतमा वरिष्ठ कलाकार आचार्यले ‘एउटा कुरा कसैलाई भन्नु हुँदैन, यो कुरोलाई गीत बनाएर गाउन मिल्दैन, हेर! भाई घने, कुरो के छ भने टुडिखेलमा हात देखाउँदा ज्योतिसिले धनि हुन्छौ भने, चुनाव लडनु भने’ भन्ने व्यङ्ग्य समसामयिक राजनीतिमाथि कसेका हुन्।
नेपालमा बढ्दै गएको भ्रष्टाचार र राजनीतिक अस्थिरतालाई लिएर गीत बनाइएको कलाकार आचार्यले बताए। ‘यो गीत कुनै व्यक्ति नेतालाई तोकेर भनेको पनि होइन। कुनै दललाई तोकेर भनेको पनि होइन। युट्युबमा कमेन्टहरु आउँदा फलानोको नाम लिएर यसलाई भनेको यस्तो भनेको भनेर कमेन्टहरु आउँछ। तर प्रवृत्तिलाई भनेको हो। जुन नेपालमा दण्डहिताको प्रवृत्ति छ त्यो प्रवृत्तिमाथि व्यङ्ग गर्ने हो। हाम्रो आकांक्षा, चिताएको कुरा के हो भने देशमा सुशासन होस्। विधिको शासन होस्। भ्रष्टाचार संसारमा जहाँ पनि हुन्छ। तर त्यसको पनि मापदण्ड हुन्छ। हाम्रो मापदण्ड एकदमै नाघेको जस्तो लाग्छ। हुनत सरकारले भ्रष्टाचार गर्न दिन्न गर्न हुँदैन भनिराखेको छ। तर हामीले गरेको पनि देखिराछौं। कुनै व्यक्तिले नहोला तर समूहमा कसैकसैले गरेको देखिराखेका छौं।’
कलाकार आचार्यले राजनीतिक क्षेत्रमा लामो समयदेखि प्रवृत्तिको रुपमा रहेको भ्रष्टाचार गाडिएको पनि उल्लेख गरे। ‘चुनाव भन्ने एउटा कस्तो माध्यम भयो भनेदेखि अब खुट्टामा चप्पल पनि लगाउन नसक्नेहरुले चुनाव लडिसकेपछि केही वर्षमा गाडि चढेर हिंडेको हामीले देखेका छौं। तर सबै नेतालाई भनेको होइन। गीतमा पनि त्यही भनिएको छ,’ उनको भनाइ छ।
राजनीतिमा लागेर धेरै व्यक्तिहरु अर्बपति भएको र रहनसहनमा ठूलो परिवर्तन आएको देखिएको कुरालाई गीतले देखाएको पनि आचार्यले बताए। राजनीतिलाई नै उद्योग बनाउन भएन, व्यापार बनाउन भएन भनेर गीतमा देखाउन खोजिएको छ। नेपालमा यही प्रवृत्ति रहेका कारण जनतामा निराशा आएको उल्लेख गरे।
‘जनताहरुमा बढी निराशा छाएको कारणपनि त्यही हो कि यो प्रवृत्ति, भ्रष्टाचारको प्रवृत्ति रोकियोस्। राजनीतिमा मात्रै होइन कि प्रशसनिक क्षेत्रमा पनि त्यत्तिकै छ। जनतालाई सानो काम गर्न पर्यो भनेपनि केही राहत नदिइकन त्यो काम फत्ते होला भन्ने आश नै गर्नुपदैन,’ उनले भने।
देशको राजनीतिक नेतृत्वले देशको पुरै राजनीतिक प्रणालीलाई आफू जस्तै बनाएको विषयलाई पनि गीतमा देखाउन खोजिएको बताए। ‘मैले बेलाबेलामा भन्ने पनि गर्छुकी घरमा बाउ जड्याहा भयो भने छोराछोरीहरु पनि जड्याहा हुन सक्छन्। बिग्रिन सक्छन्। बाउ नै अनुशासन, आमा अनुशासनमा छैनन् भने छोराछोरीहरुलाई अनुशासनमा बस भनेर भएन। हाम्रो राजनीतिको अविभावकत्व नै बिग्रिएको जस्तो लाग्छ। तर मैले एउटा व्यक्ति कसैलाई भनेको होइन। यो प्रवृत्तिलाई भनेको मैले। त्यही प्रवृत्तिमाथि बनाएको गीत हो,’ उनले भने।
देशको प्रजातन्त्र एउटा प्रजातान्त्रिक प्रवृत्तिमा भन्दापनि राजनीतिक नेतृत्व गर्ने व्यक्तिको प्रवृत्तिमा निर्भर गरेको उल्लेख गरे। उहाँले भन्नुभयो ‘हाम्रो देशको डेमोक्रयासी अब बाँदर नभनौं जस्तोजस्तो मान्छेले सञ्चालन गर्नुभएको छ त्यस्तै त्यस्तै भइदिएको छ। जुन भाँडामा पानी हालिन्छ त्यही आकार जस्तो भयो।’
कुनैपनि व्यक्ति कला साहित्यको क्षेत्रमा सफल हुँदैमा राजनीतिमा सफल नहुने मान्यता पनि आचार्यको छ। राजनीतिक व्यक्तिमा संगठन निर्माण, योजना निर्माण लगायतमा योग्य हुनुपर्ने बताए।
‘कला साहित्यको क्षेत्रमा केही गर्न सक्यो भन्दैमा राजनीतिमा पनि त्यो मान्छे सफल हुन्छ भन्ने छैन। त्यो प्रकृतिले दिएको हुन्छ। संगठन गर्न सक्ने क्षमता एउटा नेतामा हुनुपर्छ। कुनै नेतामा योजना बनाउन सक्ने क्षमता हुनुपर्छ । हामी न योजना गर्न सक्ने क्षमतामा प्राक्टिस ग¥यौं । हामीभन्दा धेरै पढेलेखेका योजनाकार हुनुहुन्छ,’ उनले भने।
तर चुनावमा राजनीतिक नेतृत्वले ठिक व्यक्ति छान्न नसक्दा राजनीतिमा सही व्यक्ति आउन नसकेको बुझाई पनि आचार्यको छ। ‘चुनाव दलहरुले पनि जितेका छन सानाहरुले पनि जितेका छन्। काला व्यापारीहरुले पनि जितेका छन्। त्यस्तो प्रवृत्ति भएका मान्छेहरुको साथ लिएर प्रधानमन्त्री हुनुपर्ने, राष्ट्रपति हुनुपर्ने छ। मान्छेको चरित्र आचरण नबुझिकन जो पायो त्यसलाई राजनीतिक पार्टीले टिकट दियो भनेदेखि फेरि चुनाव जितेर आउने डनहरु नै हुन्। डनहरुले छानेको मान्छेहरुलाई स्वच्छ शासन गर्न गाह्रो हुन्छ। ती व्यक्तिहरुसँग डर भइरहन्छ। त्यो कारणले गर्दा राजनीतिक संस्कार नै परिवर्तन हुनुपर्छ,’ उनले वर्तमान राजनीतिबारे तीतो पोखे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।