फाइल तस्बिर
काठमाडौं- हिमालपारीको जिल्ला मनाङमा विकास निर्माणका काम ठप्प भएको छ। अत्यधिक चिसो बढेसँगै जिल्लामा भएका विकास निर्माणका काम रोकिएको हो। चिसो बढेसँगै खोलाहरु जमेका छन् भने माथिल्लो भेगमा सोमबारदेखि परेको हिमपातले जनजीवन कष्टकर भएको छ।
केही दिनअघि खोला जमेर खानेपानीको अभाव झेल्दै आएका यहाँका मानिसलाई हिमपातले घरभित्रै थन्क्याएको छ। मानिस त जसोतसो घरभित्र रहेपनि पशुचौपाय हिमपातको शिकार भएका पशुपालक किसान चोल्पा गुरुङले बताए। उनका अनुसार माथिल्लो मनाङ खांसार मनाङगाउँलगायतका ठाउँमा निर्माण भइरहेका काम रोकिएका छन्। चिसोमा सिमेन्ट ‘सेट’ नहुने र चिसोले कामदारले काम गर्न नसक्ने हुँदा सडक, खानेपानी र सिँचाइका काममा अवरोध आएको हो।
त्यस्तै बर्खामा बाढीपहिरो र हिउँदमा हिमपातका कारण विकास निर्माणले गति लिन नसकेको पूर्वाधार विकासका प्रमुख नवीनचन्द्र अधिकारीले बताए। अहिले पूर्वाधारअन्तर्गतका काम सञ्चालन हुनसकेका छैनन्। मुख्य त यहाँको भौगोलिक अवस्थामा भर पर्छ। प्राकृतिक प्रकोपका कारण पनि विकास निर्माणले गति लिन नसकेको उनले बताए।
विगत पाँच वर्षदेखि अलपत्र रहेका मनाङका खोलामा पक्की मोटरपुल अझै सम्पन्न हुनसकेका छैनन्। हाल जिल्लामा रहेका प्रदेश र संघ मातहतका विकास आयोजना पनि चिसोका कारण काम हुन नसकेको जिल्ला पूर्वाधार कार्यालय मनाङले जनाएको छ। पूर्वाधार कार्यालयका अनुसार हाल जिल्लामा सडक स्तरोन्नति, मोटरपुल निर्माण, जिल्ला कारागार, अस्पताल, सिटीहल निर्माणका काम भए पनि चिसोका कारण रोकिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।