काठमाडौँ- महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाइकल चोरी गर्ने २ जनालाई मोटरसाइकलसहित पक्राउ गरेको छ। पीडित सहायता इकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले सोह्रखुट्टेस्थित सडकखण्डबाट राजन मगर र राजन तामाङले सवार गरीरहेको मोटरसाइकलसहित पक्राउ गरेको जानकारी ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले दिए।
पक्राउ पर्नेमा धादिङ्ग नीलकण्ठ नगरपालिका-९ मुरली भन्ज्याङ्गका २६ वर्षीय राजन मगर र थाक्रे गाउँपालिका-१ देवीस्थानका २१ को राजन तामाङ छन्। उनीहरूले प्रयोग गर्दै आएको बा ९२ प ७६३० नम्बर कालो रातो रंङको २२० सीसीको पल्सर मोटरसाइकललाई समेत नियन्त्रणमा लिइएको छ। अनुसन्धानको क्रममा उक्त मोटरसाईकलको वास्तविक नम्बर भने प्रदेश ३-०२-०१२ प ९८३५ खुल्न आएको छ।
ट्राफिक महाशाखामा जिल्ला पर्सा ठोरी गाउँपालिका-९ बस्ने पूर्णबहादुर थापाले दिएको हुलिया निवेदनका आधारमा मोटरसाइकल चोरी गर्ने युवालाई पक्राउ गरिएको हो।
पक्राउ परेका युवालाई आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी वृत्त, लैनचौर पठाइएको महाशाखाका प्रवक्ता एसपी श्याम कृष्ण अधिकारीले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।