काठमाडौं–इटालियन सिरी ए फुटबलमा लिग लिडर एसी मिलान युभेन्टससँग पराजित भएको छ। बुधबार राति भएको खेलमा एसी मिलान आफ्नै मैदानमा युभेन्टससँग ३–१ गोलले पराजित भएको हो।
युभेन्टसको जितमा फेडेरिको चिसाले दुई गोल गर्दा वेस्टन म्याक्केनीले एक गोल गरे। एसी मिलानका लागि डेविड कालाब्रियाले एक गोल गरे। खेलको १८ औं मिनेटमा गोल गर्दै फेडेरिकोले युभेन्टसलाई अग्रता दिलाएका थिए। ४१ औं मिनेटमा डेविडले गोल गरेपछि एसी मिलानले युभेन्टससँग पहिलो हाफ १–१ गोलको बराबरी खेलेको थियो।
खेलको ६२ औं मिनेटमा फेडेरिकोले व्यक्तिगत दोस्रो गोल गर्दा ७६ औं मिनेटमा वेस्टन म्याक्केनीले गोल गर्दै युभेन्टसलाई ३–१ गोलको जित दिलाए।
बुधबार राति नै भएका अन्य खेलमा रोमाले क्रोटनलाई ३–१ गोलअन्तरले पराजित गर्दा एटलान्टाले पर्मालाई ३–० गोलले पराजित गरेको छ। त्यस्तै, साम्पडोरियाले इन्टर मिलानलाई २–१ गोलअन्तरले पराजित गर्दा काग्लियारी भने बेनेभेन्टोसँग २–१ गोलले पराजित भएको छ।
जितसँगै युभेन्टसले १५ खेलबाट ३० अंक बनाउँदै लिगको चौथो स्थानमा उक्लिएको छ। लिगको शीर्ष स्थानमा रहेको एसी मिलानको भने १६ खेलबाट ३७ अंक छ। दोस्रो स्थानमा रहेको इन्टर मिलानको १६ खेलबाट ३६ अंक हुँदा तेस्रो स्थानमा रहेको रोमाको समान खेलबाट ३३ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।