काठमाडौं– बार्सिलोना स्पेनिस ला लिगा फुटबलमा जित निकाल्दै तेस्रो स्थानमा उक्लिएको छ। बुधबार राति भएको खेलमा बार्सिलोनाले एथ्लेटिक विल्बाओलाई ३–२ गोलअन्तरले पराजित गरेको हो।
घरेलु टिम एथ्लेटिक क्लबले भने सुरुमै लिगको अग्रता जोगाउन नसक्दा हार ब्यहोरेको हो। बार्सिलानाका कप्तान लियोनल मेस्सीले दुई गोल गर्दा एक गोल पेड्रीले थपे। एथ्लेटिक क्लबका लागि इपिनाकी विलियम्स र इकर मुनियनले गोल गरे।
विलियम्सले खेलको तेस्रो मिनेटमा नै गोल गर्दै एथ्लेटिकलाई १–० गोलको अग्रता दिलाए। तर खेलको १४ औं मिनेटमा पेड्रीले गोल गर्दै बार्सिलोनालाई १–१ गोलको बराबरी दिलाए। कप्तान मेस्सीले खेलको ३८ औं मिनेटमा गोल गर्दा बार्सिलोनाले पहिलो हाफसम्म २–१ को अग्रता लियो। ६२ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई ३–१ गोलको अग्रता दिलाए। ९० औं मिनेटमा इकर मुनियनले गोल गर्दै ३–२ को स्थितिमा पुर्याए पनि एथ्लेटिक क्लबले बार्सिलोनासँगको हार टार्न सकेन।
जितसँगै बार्सिलोना लिगको तेस्रो स्थानमा उक्लिएको छ। बार्सिलोनाको १७ खेलबाट ३१ अंक हुँदा पराजित एथ्लेटिकको १८ खेलबाट २१ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।