चितवन- जिल्ला प्रहरी कार्यालयले मोटरसाइकल चोरी गर्ने गिरोहका चार जनालाई पक्राउ गरेको छ। चोरीका मोटरसाइकल बिक्री गर्दै गर्दा उनीहरुलाई पक्राउ गरिएको हो। जिल्ला प्रहरी कार्यालयले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी पक्राउ परेकालाई सार्वजनिक गरेको छ।
पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–८ का २८ वर्षीय वसन्तकुमार गुरुङ, वडा नं ९ का २१ वर्षीय मेलोन सुनार, वडा नं ११ का १८ वर्षीय शिव विक र गोर्खाको भीमसेन थापा गाउँपालिका वडा नं ५ घर भई भरतपुर–८ बस्ने ३७ वर्षीय नवराज श्रेष्ठ रहेका छन्।
उनीहरुलाई प्रहरीले चोरीका तीन थान पल्सर मोटरसाइकल र एक थान स्कुटरसहित पक्राउ गरेको हो। उनीहरु जिल्लाका विभिन्न ठाउँबाट पक्राउ परेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नान्तीराज गुरुङले घरमा राखिएका सवारीसाधन चोरी गरेर नम्बर प्लेट फेरेर बिक्री गर्दै गर्दा उनीहरुलाई पक्राउ गरेको जानकारी दिए।
मोटरसाइकल चोरी गर्ने गिरोहका अन्य व्यक्ति अझै जिल्लामा रहेको भन्दै उनले उनीहरुको खोजी कार्य भइरहेको बताए। पक्राउ परेकालाई मुलुकी अपराध संहिता २०७४ परिच्छेद २० दफा २४२ को उपदफा २ बमोजिम तीन वर्ष कैद र ३० हजार रूपैयाँसम्म जरिवाना मागसहित अदालतमा मुद्दा दर्ता गरिएको गुरुङले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।