काठमाडौं– टोटेनहम इएफएल कप फुटबलको फाइनलमा प्रवेश गरेको छ। मंगलबार राति भएको सेमिफाइनलमा ब्रेन्टफोर्डलाई २–० गोलअन्तरले पराजित गर्दै टोटेनहम फाइनलमा पुगेको हो।
आफ्नै मैदानमा भएको खेलमा टोटेनहमले ब्रेन्टफोर्डमाथि सहज जित निकालेको हो। टोटेनहमका मौसा सिसोको र सन हेयुङ मिनले गोल गरे। पहिलो हाफमा एक गोल गरेको टोटेनहमले दोस्रो हाफमा अर्को गोल गर्दै जित निकालेको हो। खेलको १२ औं मिनेटमा गोल गर्दै टोटेनहमलाई १–० गोलको अग्रता दिलाए।
खेलको ७० औं मिनेटमा सनले गोल गर्दा टोटेनहमले २–० गोलको अग्रता बनायो। खेलको ८४ औं मिनेटमा जोश डेसिल्भा रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि ब्रेन्टफोर्ड १० खेलाडीमा झरेको थियो। निर्धारित समयसम्म टोटेनहमले आफ्नो अग्रतालाई कायमै राख्दै ब्रेन्टफोर्डविरुद्ध जित निकालेसँगै फाइनलमा प्रवेश गरेको हो।
फाइनल खेल २०२१ को अप्रिल २५ तारिखमा हुनेछ। सेमिफाइनलतर्फ नै अर्को खेलमा बुधबार राति म्यानचेस्टर सिटीले म्यानचेस्टर युनाइटेडसँग प्रतिस्पर्धा गर्दैछ। यी टिमबीचको विजेताले फाइनलमा टोटेनहमसँग प्रतिस्पर्धा गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।