प्रतीकात्मक तस्बिर
काठमाडौं- वातावरण विभागले काठमाडौं उपत्यकासहित तराईमा वायुप्रदूषण बढेको भन्दै सावधानी अपनाउन अनुरोध गरेको छ। मंगलबार एक सूचना जारी गर्दै विभागले यस्तो आग्रह गरेको हो।
पुस २० गतेदेखि मौसममा आएको बदलावसँगै काठमाडौं उपत्यकालगायत देशका विभिन्न सहर र तराई क्षेत्रमा वायुप्रदूषण बढेकाले सावधानी अपनाउन अनुरोध गरिएको छ। बिहान र बेलुकाको समयमा वायुप्रदूषणको स्तर सबैभन्दा बढी देखिएको समेत विभागले जानकारी दिएको छ। वायुप्रदूषणले मानव स्वास्थ्यमा नकारात्मक असर पार्ने भएकाले सावधानी अपनाउन आग्रह गरिएको हो।
'विशेष गरी बालबालिका, वृद्धवृद्धा एवं दम, खोकी जस्ता श्वासप्रश्वाससम्बन्धी र मुटुका बिरामीहरु बढी प्रभावित हुने भएकाले उहाँहरूलाई सकेसम्म घरबाहिर ननिस्कन र सबै नागरिकले घरबाहिर निस्किँदा विशेष सावधानी अपनाउनु वातावरण विभाग अपिल गर्दछ,' विभागले जारी गरेको सूचनामा उल्लेख छ।
नेपालगञ्ज, विराटनगर, वीरगञ्जलगायतका सहरी क्षेत्रलगायत तराई क्षेत्रमा पनि प्रदूषणको मात्रा उच्च भएकाले नागरिकलाई विशेष सावधानी अपनाउन विभागले अनुरोध गरेको छ। जाडोको समयमा फोहोर बाल्दा पनि प्रदूषणको मात्र बढ्न सक्ने भएकाले त्यसो नगर्न विभागको आग्रह छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।