काठमाडौं- स्पेनिस क्लब बार्सिलोनामा दुई जनामा कोरोना संक्रमण भएको क्लबले पुष्टि गरेको छ। प्रशिक्षक रोनाल्ड कोम्यानको प्रशिक्षण टिममा रहेका दुई जना कर्मचारीमा कोरोना संक्रमण देखिएको हो।
कोरोना संक्रमणकै कारण मंगलबारको अभ्यास तालिकामा हेरफेर भएको छ। बुधबार राति पौने २ बजे ला लिगा अन्तर्गत बार्सिलोना र एथ्लेटिक क्बलबीच हुने खेलमा यसले असर नगर्ने बताइएको छ। खेलको एक दिनअघि हुने पत्रकार सम्मेलन भने प्रभावित भएको छ।
‘सोमबार गरिएको कोरोना परीक्षणको नतिजामा दुई जनामा संक्रमण पुष्टि भएको हो। सिनियर टिममा काम गरिरहेका स्टाफ संक्रमण देखिएको हो। जसको जानकारी सम्बन्धित निकायमा गराइसकेका छौँ’ क्लबले विज्ञप्तीमार्फत उल्लेख गरेको स्पेनिस पत्रिका मार्काले उल्लेख गरेको छ।
मंगलबार बिहान पनि खेलाडीको समेत दोस्रो पटक पिसिआर परीक्षण गरिएको र त्यसको नतिजाका आधारमा अघि बढ्ने क्लबले उल्लेख गरेको छ।
ला लिगामा १६ खेल खेलेको बार्सिलोना अहिले २८ अंकसहित पाँचौँ स्थानमा रहेको छ। शीर्षमा रहेको एथ्लेटिको मड्रिडको १५ खेलमा ३८ अंक छ। दोस्रोमा रहेको रियल मड्रिडको १७ खेलमा ३६ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।