काठमाडौं–साविक विजेता लिभरपुल इंग्लिस प्रिमियर लिग फुटबलमा पराजित भएको छ। साउथह्याम्पटनले लिभरपुललाई १–० गोलले पराजित गरेको हो।
पछिल्लो खेलहरुमा लिभरपुलले खराब खेलिरहेको छ। साउथह्याम्पटनले लिभरपुललाई आफ्नै मैदानमा पराजित गर्ने क्रममा डेनी इङ्सले गोल गरे। खेलको दोस्रो मिनेटमा नै डेनीले गोल गर्दै साउथह्याम्पटनलाई अग्रता दिलाएका थिए। दोस्रो हाफमै १–० गोलले पछि परेको लिभरपुलले खेल अवधिभर बल आफ्नो नियन्त्रणमा राखेपनि गोल गर्न भने सकेन।
लिभरपुलले प्रिमियर लिगमा पछिल्लो ६ खेलमा खेलेको नतिजालाई नियाल्ने हो भने निरासाजनक छ। लिभरपुलले खेलेको पछिल्लो ६ खेलमध्ये टोटेनहमलाई २–१ र क्रिस्टल प्यालेसलाई ७–० गोलले पराजित गर्दा फुलहामसँग १–१ गोलको बराबरी खेलेको छ। त्यस्तै, कमजोर मानिएका अन्य क्लब वेष्ट ब्रुमसँग १–१ र न्युक्यासलसँग गोलरहित बराबरी खेल्दा लिभरपुलले सोमबार राति साउथह्याम्पटनसँग १–० गोलले पराजित भएको हो।
लिगको शीर्ष स्थानमा रहेको लिभरपुलको १७ खेलबाट ३३ अंक छ। लिभरपुललाई पराजित गरेको साउथह्याम्पटन १७ खेलबाट २९ अंक बनाउँदै लिगको छैटौं स्थानमा उक्लिएको छ। लिगको दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडको १६ खेलबाट ३३ अंक नै छ। लिगको तेस्रो स्थानमा रहेको लेस्टर सिटीको १७ खेलबाट ३२ अंक हुँदा चौथो स्थानमा रहेको टोटेनहमको १६ खेलबाट २९ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।