काठमाडौं- नेपाल प्रहरीले स्रोत नखुलेको एक करोड ४७ लाख ८६ हजार रूपैयाँसहित दुई व्यक्तिलाई पक्राउ गरेको छ। प्रहरीको महानगरीय प्रहरी प्रभाग नागढुङ्गाको टोलीले कपिलवस्तुबाट काठमाडौँ आउँदै गरेको प्रदेश ३–०१–०२३ च २२५९ नं को हुण्डाई कारमा जाँचका क्रममा उक्त रकमसहित सोमबार बिहान दुई जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा भारत गोरखपुरका ३० वर्षीय अमितकुमार गुप्ता र कपिलवस्तुका २२ वर्षीय कार चालक सङ्गम थारु रहेका छन्।
महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी नायब उपरीक्षक प्रमेश विष्टले कारको डिक्कीमुनी विभिन्न भागमा तीनवटा झोलामा लुकाएर ल्याएको उक्त रकमसहित दुईजनालाई पक्राउ गरिएको जानकारी दिए।
‘उक्त रकम भारतबाट भारतीय रुपैँया ल्याई नेपालको सीमा क्षेत्रमा पटकपटक सटही गरेको अनुसन्धानबाट खुलेको छ,’ प्रवक्ता विष्टले भने। उक्त घटनामा प्रयोग भएको सवारी साधन र बरामद गरिएको रकमसहित आवश्यक अनुसन्धान तथा कारवाहीका लागि सम्पत्ति शुद्धीकरण विभाग पठाइएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।