काठमाडौं– साविक विजेता युभेन्टसले इटालियन सिरि ए फुटबलमा जित निकालेको छ। आइतबार राति भएको खेलमा युभेन्टसले उदिनेजेलाई ४–१ गोलअन्तरले पराजित गरेको हो।
घरेलु टिम युभेन्टसका लागि क्रिस्टियानो रोनाल्डोले दुई गोल गर्दा फेडेरिको चिसा र पाउल डिबालाले गोल गरे। उदिनेजेका लागि मार्भिन जिगलारले एक गोल फर्काए। खेलको ३१ औं मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका थिए। पहिलो हाफसम्म १–० गोलको अग्रता बनाएको युभेन्टसले दोस्रो हाफमा थप तीन गोल गर्दा एक गोल खान पुग्यो।
खेलको ४९ औं मिनेटमा फेडेरिकोले गोल गर्दै युभेन्टसको अग्रता दोब्बर पारे। ७० औं मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै युभेन्टसलाई ३–० गोलको अग्रता दिलाए। खेलको ९० औं मिानेटमा मार्भिनले गोल गरेपछि उदिनेजेले युभेन्टससँग ३–१ गोलको स्थितिमा खेल पुर्याएको थियो। तर इन्जुरी समयमा डिबालाले गोल गरेपछि युभेन्टसले ४–१ गोलको जित निकालेको हो।
जितसँगै युभेन्टस लिगको पाँचौं स्थानमा उक्लिएको छ। युभेन्टसको १४ खेलबाट २७ अंक हुँदा लिगको शीर्ष स्थानमा रहेको एसी मिलानको १५ खेलबाट ३७ अंक छ। लिगको शीर्ष स्थानमा रहेको एसी मिलानले बेनेभेन्टोलाई आइतबार राति नै २–० गोलले पराजित गरेको हो। त्यस्तै, दोस्रो स्थानमा रहेको इन्टर मिलानले पनि क्रोटोनलाई ६–२ गोलको फराकिलो अन्तरले पराजित गरेको छ। इन्टर मिलानको १५ खेलबाट ३६ अंक छ। लिगको तेस्रो स्थानमा रहेको रोमाले साम्पडोरियालाई १–० गोलअन्तरले पराजित गर्दा काग्लियारीलाई ४–१ गोलअन्तरले पराजित गरेको नापोली लिगको चौथो स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।