काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा अलाभेसलाई पराजित गर्दै एथ्लेटिको मड्रिड शीर्ष स्थानमा उक्लिएको छ। आइतबार राति भएको खेलमा एथ्लेटिको मड्रिडले अलाभेसलाई २–१ गोलअन्तरले पराजित गरेको हो।
एथ्लेटिको मड्रिडको जितमा मार्कस लोरेन्टे र लुइस स्वारेजले गोल गरे। अलाभेसले एक गोल उपाहार पाउँदा एथ्लेटिको मड्रिडका फिलिपेले आत्मघाती गोल गरे। खेलको ४१ औं मिनेटमा लोरेन्टेले गोल गर्दै एथ्लेटिको मड्रिडलाई पहिलो हाफसम्म १–० गोलको अग्रता दिलाए।
खेलको ६३ औं मिनेटमा भिक्टर लागुर्डियाले रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि अलाभेस १० खेलाडीमा झरेको थियो। खेलको ८४ औं मिनेटमा फिलिपेले आत्मघाती गोल गरेपछि अलाभेसले १–१ गोलको बराबरी बनाएको थियो। तर खेलको ९० औं मिनेटमा स्वारेजले गोल गर्दै एथ्लेटिको मड्रिडलाई २–१ गोलको जित दिलाए।
यो जितसँगै एथ्लेटिको मड्रिड साविक विजेता रियल मड्रिडलाई उछिन्दै लिगको शीर्ष स्थानमा उक्लिएको छ। १५ खेलबाट एथ्लेटिको मड्रिडले ३८ अंक बनाएको छ। दोस्रो स्थानमा झरेको रियल मड्रिडको भने १७ खेलबाट ३६ अंक छ।
स्पेनिस ला लिगा फुटबल मै भएका अन्य खेलमा एथ्लेटिको विलबाओले इल्चेलाई १–० र इबरले ग्रानाडालाई २–० गोलले पराजित गर्दा रियल सोसिडाड र ओसासुनाले भने १–१ गोलको बराबरी खेलेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।