काठमाडौं– बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा जित निकालेको छ। आइतबार राति भएको खेलमा बार्सिलोनाले हुएस्कालाई १–० गोलले पराजित गरेको हो।
घरेलु टिम हुएस्काविरुद्ध बार्सिलोनाका फ्रेन्की डि जोङले गरेको गोल नै जितको आधार बन्यो। कप्तान लियोनल मेस्सीको पुनरागमनमा बार्सिलोनाले जित दर्ता गरेको हो। यसअघि कप्तान मेस्सीविनै बार्सिलोनाले इबरसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको थियो। घाइते भएका मेस्सी एक खेल मैदानबाहिर रहेका थिए।
खेलको २७ औं मिनेटमा कप्तान मेस्सीको एसिस्टमा डि जोङले गोल गरे। पहिलो हाफसम्म एक गोलको अग्रता बनाएको बार्सिलोनाले दोस्रो हाफमा पनि आफ्नो अग्रतालाई कायमै राख्दै जित निकालेको हो।
यो जितसँगै बार्सिलोना स्पेनिस ला लिगा फुटबलको पाँचौ स्थानमा उक्लिएको छ। बार्सिलोनाले १६ खेलबाट २८ अंक बनाएको छ। पराजित हुएस्का भने १७ खेलबाट १२ अंक बनाउँदै लिगको पुछारमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।