काठमाडौं–नक्कली पिसिआर रिपोर्टसहित विदेश जान लागेका ७ जनाविरुद्ध प्रहरीले लिखतसम्बन्धी कसुरको मुद्दा चलाउने भएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शनिबार साँझ प्रहरीले पक्राउ गरेका ७ जनाविरुद्ध लिखतसम्बन्धी कसुरमा म्याद थप गर्न लागेको महानगरीय प्रहरी वृत्त गौशालाका डिएसपी जितेन्द्र बस्नेतले जानकारी दिए।
प्रहरीले शनिबार फ्लाई दुबईको उडानद्वारा दुबई जान लागेका ७ जनालाई पक्राउ गरेको थियो। पक्राउ पर्नेमा सल्यान खैरागर घर भएका २६ वर्षीय दिनेश सिंह, तेजनारायण महतो, छेवी महतो, सोलेन्द्र महतो, रोशन आचार्य, प्रवीण भट्टराई र माइला तामाङ छन् ।
उनीहरुले नक्कली रिपोर्ट आफूहरुले नबनाएको प्रहरीको बयानमा बताएका छन्। पक्राउ परेकाहरुको भनाई उदृत गर्दै गौशालाका एक प्रहरीले भने, ‘पिसिआर रिपोर्ट अर्का व्यक्तिले म बनाइदिन्छु भनेर उनैले बनाइदिएका हुन्। कहाँ कसरी बनाइदिए थाहा भएन।’
पक्राउ परेकाहरुले नाम लिएका व्यक्ति भने अहिलेसम्म पक्राउ पर्न सकेका छैनन्। पिसिआर रिपोर्ट बनाइदिन्छु भनेर नक्कली रिपोर्ट बनाइदिएको आरोप लागेका ती व्यक्तिसँग सम्पर्क गर्न खोज्दा मोबाइल अफ भएको पाइएको प्रहरीले जनाएको छ। पक्राउ परेका ७ जनाले आरोप लगाएका व्यक्ति पक्राउ नपरेसम्म कसरी नक्कली पिसिआर रिपोर्ट बन्यो भन्ने थाहा नहुने प्रहरीले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।