काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले जित निकालेको छ। आर्सनलले वेष्ट ब्रुमलाई ४–० गोलअन्तरले पराजित गरेको हो।
लिगको पुछारदेखि दोस्रो स्थानमा रहेको वेष्ट ब्रुमविरुद्ध आर्सनलले सहज जित निकालेको हो। आर्सनलको जितमा एलेक्सान्ड्रे लकाजेटले दुई गोल गर्दा काइरन टिर्ने र बुकायो साकाले गोल गरे। पहिलो हाफसमा दुई गोलको अग्रता लिएको आर्सनलले दोस्रो हाफमा थप दुई गोल गर्दै जित निकालेको हो।
खेलको २३ औं मिनेटमा काइरनले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए। २८ औं मिनेटमा साकाले गोल गर्दै आर्सनललाई २–० गोलको अग्रता दिलाए। खेलको ६० र ६४ औं मिनेटमा लकाजेटले गोल गर्दै आर्सनललाई ४–० गोलको जित दिलाए।
शनिबार राति नै भएका अन्य खेलमा टोटेनहमले लिड्स युइनाटेडलाई ३–० गोलअन्तरले पराजित गरेको छ। त्यस्तै क्रिस्टल प्यालेसले शेफिल्ड युनाइटेडलाई २–० गोलअन्तरले पराजित गर्दा ब्राइटन र वेल्भ्सले भने ३–३ गोलको बराबरी खेलेका छन्।
जितसँगै आर्सनलले १७ खेलबाट २३ अंक बनाउँदै लिगको ११ औं स्थानमा उक्लिएको छ। पराजित वेष्ट ब्रुमको भने १७ खेलबाट ८ अंक छ। त्यस्तै, लिड्सलाई पराजित गरेको टोटेनहम लिगको तेस्रो स्थानमा उक्लिएको छ। टोटेनहमको १६ खेलबाट २९ अंक रहँदा पराजित लिड्सको भने १७ खेलबाट २३ अंक छ। लिगको शीर्ष स्थानमा रहेको लिभरपुलको १६ खेलबाट ३३ अंक बनाउँदा ३३ नै अंक बनाएको म्यानचेस्टर युनाइटेड भने लिगको दोस्रो स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।