रसुवा- लाङटाङ राष्ट्रिय निकुञ्जको जङ्गलमा आगलागी भएको छ।
कालिका गाउँपालिका–१ ग्राङगाउँबाट उत्तरतर्फको ग्राङपाखा जङ्गलमा आज मध्याह्नबाट शुरु भएको आगलागी अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन। आगलागीबाट सयौँ हेक्टर जङ्गलमा क्षति पुगेको स्थानीयवासीको भनाइ छ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत सुष्मा रानाका अनुसार आगलागी नियन्त्रणका लागि हाल नेपाली सेनाको कालीजङ्ग गण, निकुञ्जका कर्मचारी र स्थानीय बासिन्दा खटिरहेका छन्। आगलागी भएको स्थान बढी भिरपाखा र झाडी क्षेत्र भएकाले नियन्त्रणको प्रयास निरन्तर भइरहेको बताइएको छ।
आगो लगाउने व्यक्तिको खोजी भइरहेको र त्यस्ता व्यक्तिको गोप्य सूचना दिई संरक्षण कार्यमा सहयोग गरिदिन सम्पूर्ण संरक्षणप्रेमीमा निकुञ्जले आग्रह गरेको छ। क्षतिको यथार्थ विवरण भने आउन सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।