काठमाडौं- राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणबाट १४ खेलाडी बाहिरिएका छन्। राष्ट्रिय टिमका कार्यबाहक मुख्य प्रशिक्षक बालगोपाल महर्जनले शुक्रबार दोस्रो चरणमा ४३ खेलाडी छानेका हुन्।
प्रारम्भिक चरणमा छनोट भएका ५८ खेलाडीबाट ४३ मा झार्दा विमल राना, राजेश परियार, रेजिन सुब्बासहित १४ खेलाडी बाहिरिएका हुन्। बाहिरिने खेलाडीमा गम्भीर चोट लागेका विमल घर्तीमगरसँगै देव लिम्बू, रन्दीप पौडेल, अमित तामाङ, जय गुरुङ, नितिन थापा, रजत तिवारी, दिपेश आले मगर, प्रिजेन तामाङ र राजिव लोप्चन रहेका छन्। डिफेन्डर सुमन अर्याल पनि राष्ट्रिय टिमको क्लोज क्याम्पबाट बाहिरिएका छन्। तर उनी समयमै चोटमुक्त भए राष्ट्रिय टिमको प्रशिक्षणमा फर्किन सक्ने छन्।
डिसेम्बर १८ तारिखमा विमल घर्तीमगर अभ्यासकै क्रममा गम्भीर घाइते भए। चोट बोकेका विमलको उपचार केही दिनपछि कतारमा हुँदैछ। एन्फाले दिएको जानकारीअनुसार उनी करिब एक महिना मैदान बाहिर नै रहने छन्।
विश्वकप फुटबल २०२२ र एएफसी एसियन कप २०२३ को संयुक्त छनोटमा नेपालले अझै तीन खेल खेल्न बाँकी छ। विश्वकप छनोटमा समूह बी मा रहेको नेपालले अहिलेसम्म पाँच खेल खेल्दा एक जित, चार हारसहित तीन अंक जोडेको छ। चाइनिज ताइपेइलाई हराएको नेपालले अस्ट्रेलिया र जोर्डनसँग एक–एक साथै कुवेतसँग दुई खेल हारेको छ।
नयाँ तालिका अनुसार अब नेपालले चैत १२ मा चाइनिज ताइपेईसँग दशरथ रंगशालामा प्रतिस्पर्धा गर्नेछ। त्यस्तै, चैत १७ गते नेपालले अस्ट्रेलियाविरुद्ध घरेलु मैदानमै प्रतिस्पर्धा गर्नेछ। विश्वकपअन्तर्गत दोस्रो चरण र एसियन कप छनोटको अन्तिम खेलमा नेपालले जेठ २४ गते जोर्डनसँग प्रतिस्पर्धा गर्नेछ।
नेपाली फुटबल टिम
गोलकिपरः किरण चेम्जोङ, विकेश कुथु, विशाल श्रेष्ठ, दिप कार्की, विशाल सुनार, अर्पन कार्की
डिफेन्डरः देवेन्द्र तामाङ, रन्जित धिमाल, विराज महर्जन, विकास खवास, विकास तामाङ, अनन्त तामाङ, निसान खड्का, छिरिङ गुरुङ, दिनेश राजवंशी, सरोज दाहाल, अजित भण्डारी, आदित्य चौधरी, सुरज विक, दिलेन लोक्तान
मिडफिल्डरः रोहित चन्द, सुजल श्रेष्ठ, विशाल राई, जर्ज प्रिन्स कार्की, मिक्चेन तामाङ, सन्तोष तामाङ, सुनिल बल, हेमन्त थापामगर, एरिक विष्ट, अशोक थापा, सुबास गुरुङ, तेज तामाङ, रवि पासवान, पुजन उपरकोटी, त्रिदेव गुरुङ, सेसेहाङ आङ्दम्बे, सन्जोक राई
फरवार्डः अभिषेक रिजाल, भरत खवास, नवयुग श्रेष्ठ, दर्शन गुरुङ, अन्जन विष्ट, आशिष लामा।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।