काठमाडौं- महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका २२ मोटरसाइकलहरू खोजतलास गरी सम्बन्धित सवारीधनीलाई जिम्मा लगाएको छ। पदम लामा, प्रदिप थापा, सोनी भट्टराई, कैलाश श्रेष्ठ, साङ्मु शेर्पा, बुद्धि जंग गुरूङलगायत २२ मोटरसाइकल धनीलाई महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जिम्मा लगाए।
जथाभावी मोटरसाइकल पार्किङ गर्दा चोरी हुने गरेकाले सवारी साधनमा अतिरिक्त लक प्रयोग गर्न, अलाराम लगायतका उपकरण जडान गर्न, अतिरिक्त लक लगाउन अल्छी नगर्न मोटरसाइकल चालकलाई प्रमुख भट्टराईले सुझाव दिए।
चोरी भएको थाहा पाउनसाथ ट्राफिक प्रहरीको हटलाईन १०३ वा अनलाईन सेवा लस्ट भेयकल एप्लिकेशनमा लगइन गरेर निवेदन दिन सकिने ट्राफिक महाशाखाले जनाएको छ।
ट्राफिक प्रहरी महाशाखाको पीडित सहायता इकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले उपत्यकाका बनेपा काभ्रे, कपन, धुम्वाराही, कलंकी, बनस्थली, गंगबु, बौद्ध, थापाथली, ट्रमा सेन्टर, सिनामंगल, जोरपाटी, ठमेल, मुलपानी, कलंकी, ट्याङ्लाफाट, कालोपुल, कमलविनायक, घट्टेकुलो, जरंखु, चावहिल, पुरानो बानेश्वर र बबरमहल लगायतका स्थानबाट हराएका मोटरसाइकलको खोजी गरी आज सम्बन्धित धनीलाई जिम्मा लगाएको हो।
महाशाखाले यस पौष महिनामा मात्रै ३९ वटा मोटरसाइकल अनुसन्धानको लागि ल्याएको छ भने चोरीमा संलग्न ९ जना व्यक्तिहरूलाई पक्राउ गरी मुद्दा समेत चलाइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।